चैत १७ देखि अन्तर्राष्ट्रिय पुष्प मेला

प्रकाशित मिति: १३ चैत्र २०७३, आईतवार

काठमाडौं, १३ चैत । आगामी चैत १७ देखि २० गतेसम्म उपत्यकाको भृकुटीमण्डपमा तेस्रो अन्तर्राष्ट्रिय पुष्प मेला प्रदर्शनी हुने भएको छ ।

चैत १७ गते ‘शान्ति समृद्धि तथा स्वच्छ वातावरणका लागि पुष्प व्यवसाय’ मूलनाराका साथ सुरु हुने उक्त मेलाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजुले मेलामा अन्तर्राष्ट्रिय क्षेत्रबाट २८ र नेपालबाट ७१ गरी कुल ९९ वटा कक्ष समावेश गरिने जानकारी दिए ।

मेलामा ४५० मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजन, ग्रिन हाउस, कृषि औजार, उपकरण प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि र जैविक तथा रासायनिक विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहनेछ ।

कृषि विकास मन्त्रालय र फ्लोरिकल्चर एसोसिएसन नेपालको संयुक्त आयोजनामा हुने सो मेलामा चीन, बङ्गलादेश, श्रीलङ्का, भारत र दक्षिण कोरियाको सहभागिता हुने जनाएको छ ।

मेला अवधिभर ६५ हजार अवलोकनकर्ता तथा रु ७५ लाख बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट