पशु बिमाको संख्या बढ्दै

प्रकाशित मिति: १३ चैत्र २०७३, आईतवार

पर्वत, १३ चैत । पर्वतमा आफूले पालेका पशुको बिमा गर्ने कृषकको संख्या बढ्दै गएको हो ।

जिल्ला पशुसेवा कार्यालय पर्वतका अनुसार सरकारले चार वर्ष पहिलेदेखि पशुपालन व्यवसायमा रहेको जोखिम न्यूनीकरण गर्न पशुमा बिमा लागू गरेको हो । पशु बिमा लागू भएसँगै व्यावसायिक रुपमा पशुपालन गरेका कृषकको यसतर्फ आकर्षण बढेको हो ।

हालसम्म जिल्लामा छ हजार बढी पशुको बिमा भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । वरिष्ठ पशु विकास अधिकृत सुधीर थापाका अनुसार गाई सात सय ५६, भैँसी एक सय २७, बाख्रा तीन हजार एक सय १२, बंगुर दुई सय १७ वटाको बिमा भएको छ । चालु आवमा भने हालसम्म दुई सय ७४ पशुको बिमा भइसकेको छ ।

गत वर्षसम्म पशुबिमासम्बन्धी ज्ञान नभएका कारण जिल्लामा यसको संख्या नबढेको भए पनि क्रमशः बिमा गर्न आउनेहरु बढ्न थालेका छन् । पछिल्लो समयमा गाईभैँसी, बाख्रा, बंगुर तथा कुखुरापालन गर्ने कृषकको संख्यासमेत बढेको छ । व्यावसायिक रुपमा फार्म तथा सहकारीतर्फ लाग्ने युवाको संख्यामा वृद्धि भएको छ ।

सरकारले २०६९ साल माघदेखि पशु र कृषिपालन व्यवसायमा लाग्ने कृषकका लागि राहत र जोखिम घटाउन बिमा लागू गरेको थियो । सुरुका वर्षमा बिमा गर्दा लाग्ने शुल्कमा सरकारले ५० प्रतिशत र कृषकले ५० प्रतिशत प्रिमियम बुझाउने व्यवस्था गरेपनि प्रभावकारी नभएकाले गत वर्षदेखि सरकारले नै ७५ प्रतिशत प्रिमियम व्यहोर्न थालेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट