६ अर्ब लगानीमा न्यादी जलविद्युत् आयोजना सुरु

प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार

लमजुङ, ११ चैत । रु छ अर्ब लगानीमा बाहुनडाँडा र भुलभुलेको सीमा भएर बग्ने न्यादी खोलामा ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु गरिएको छ ।

सो आयोजनामा ७५ प्रतिशत अर्थात् रु चार अर्ब ४० करोड बैंकको लगानी रहने छ । प्रवद्र्धकको स्वामित्व पुँजी रु एक अर्ब ५० करोड रहेको छ । संस्थापक सेयरधनीको रु एक अर्ब १२ करोड ५० लाख लगानी रहने आयोजनाका प्रबन्धक उत्तम अमात्यले जानकारी दिए ।

सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात् रु २२ करोड ५० लाख र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत अर्थात् रु १५ करोड सेयर छुट्टयाइएको उनले बताए । आयोजनामा १५/१५ मेगावाटको दुईवटा टर्बाइन रहने छ । वार्षिक १७ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

आगामी २०७६ चैतसम्म सम्पन्न गर्ने लक्ष्यका साथ उक्त जलविद्युत् आयोजनाको निर्माण सुरु गरिएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट