कहाँ ‘बरी’ कहाँ ‘कमान्डेन्ट’

प्रकाशित मिति: १० चैत्र २०७३, बिहीबार

काठमाडौं । कहाँ त्यो देख्दा कार्टुनजस्ती लाग्ने हातमा चुरोट, लर्बलाइरहने अनौठो आकृति अनि बुलेटजस्तो बोली र हाँसो भएकी ‘सकम्बरी’ । अनि कहाँ नेपाल प्रहरी विद्यालय सामाखुसी रानीबारीकी ‘कमान्डेन्ट’ । शर्मिला गुरुङले यी दुवै भूमिका निर्वाह गरिन्, पहिलो भूमिका रिल लाइफमा अनि दोस्रो चाहिँ रियल लाइफमा ।

शर्मिलालाई ‘सकम्बरी’ उर्फ ‘बरी’को भूमिका निर्वाह गरिरहँदा यस्तो होला भन्ने कल्पनासम्म थिएन । ‘अफिसर’ बन्ने चाहना चाहिँ सानैदेखि थियो उनमा भलै उनलाई ‘अफिसर’ भनेको के हो भन्ने थाहा नहोस् । त्यस्तो चाहना किन नहोस् पनि उनमा जब कि नेपाली सेनामा सेवारत (हाल अवकास प्राप्त) पिताले ‘सही चल्ने अफिसर हुनु’ भनिरहनुहुन्थ्यो । यो वाक्य शर्मिलाको मथिंगलमा हरदम गुन्जिरहन्थ्यो ।

पितृ आज्ञा पालन गर्नु सामान्यतया हरेक सन्तान चाहन्छन् । शर्मिला पनि त्यसभन्दा पृथक थिइनन् । ‘सही चल्ने अफिसर’ के हो भन्ने बुझ्न थालेदेखि नै उनी सेनामा प्रवेश गर्न चाहन्थिन् । तर, दिदी सेनामा जोइन भएपछि उनलाई त्यता जान मन लागेन र रोजिन् नेपाल प्रहरी ।

दोलखा पुख्र्यौली थलो भए पनि शर्मिला भक्तपुरमै हुर्किइन् । उनले स्कुले शिक्षा पनि भक्तपुरमै पूरा गरिन् एउटा सामुदायिक विद्यालयबाट । पढाइमा अब्बल थिइन् शर्मिला । ‘पढाइमा खर्च गर्नै परेन,’ आफ्नो विद्यार्थी जीवन सम्झदै शर्मिला भन्छिन्, ‘जन्मोत्सवलगायत स्कुलमा हुने विशेष कार्यक्रममा त ठूलै झोला लिएर जानुपथ्र्यो पुरस्कार बोक्न ।’ ख्वप कलेजबाट म्यानेजमेन्टमा स्नातक गरेकी शर्मिलाले स्नातकोत्तर चाहिँ त्रिभुवन विश्वविद्यालयबाट गरिन्, राजनीति शास्त्रमा ।

सेनामा जाने आफ्नो इच्छा पूरा नभएपछि उनी नेपाल प्रहरीमा इनिस्पेक्टर बनिन् । पढाइमा अब्बल शर्मिलाले इनिस्पेक्टरको कोर्स ‘क’ श्रेणीमा उत्तीर्ण गरिन् । पारिवारिक वातावरणले होला सायद सानैदेखिको फोर्समा काम गर्ने इच्छा थियो शर्मिलामा । र, त्यसलाई पूरा गरिन् पनि । त्यही कारणले सायद उनीलाई काममा सहज र रमाइलो नै महसुस भइरहेको छ ।

अहिलेसम्मको आफ्नो ७ वर्षे सेवा अवधिमा शर्मिलाले हेटौँडामा प्रहरीको महिला सेलमा अनि थापाथलीको ट्राफिक प्रहरी कार्यालयमा इन्चार्जको हैसियतमा जिम्मेवारी निर्वाह गरिसकेकी छन् । र, अहिले नेपाल प्रहरी विद्यालयकी पहिलो महिला ‘कमान्डेन्ट’ हुन् उनी । शर्मिलाले जहाँ जे–जे जिम्मेवारी पाइन्, त्यसलाई कुशलतापूर्वक निर्वाह गरिन् ।

भारतीय राजदूतावासमार्फत नेपाल प्रहरीले पाउने इन्डियन पुलिस सर्भिस (आइपिएस) ट्रेनिङ पनि लिएकी छन् शर्मिालाले । आइपिएस ट्रेनिङले जीवनमा धेरै कुरा सिकाएको उनले अनुभव गरेकी छन् । सानैदेखि ‘फोर्स’मा जोइन हुने प्यासन भएकी शर्मिला नेपाल प्रहरीबाट सहभागी भएर आइपिएस ट्रेनिङमा पुरस्कृत हुने पहिलो अफिसर हुन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको हातबाट ट्रफी लिँदाको क्षण जीवनको सबैभन्दा गर्व लाग्ने क्षण हो शर्मिलाका लागि ।

प्रहरीले जिम्मेवारी पूरा गर्दै जाने क्रममा आमनागरिक र सञ्चारमाध्यमको सपोर्ट चाहिने शर्मिलाले महसुस गरेकी छन् । प्रहरी, जनता र सञ्चारमाध्यम हातेमालो गरेर अगाडि बढे असल समाज निर्माण गर्न सकिने उनको बुझाइ छ ।

त्यसैले प्रहरी कल्याण कोषले स्थापना गरेको यो विद्यालयको पहिलो महिला कमान्डेन्ट शर्मिलाका अनुसार यो विद्यालय एकदमै राम्रो छ । प्रहरी स्कुल भएपछि अनुशासनसम्बन्धी त शंका हुने कुरै भएन त्यसमाथि सबै कक्षामा ‘भर्चुअल क्लास’ हुने गरेको उनले जानकारी दिइन् ।

एक सन्तानकी आमा शर्मिलाले कुनै समय एयर होस्टेजको ट्रेनिङ पनि लिएकी थिइन् । त्यतिबेला कतार एयरवेजले एयर होस्टेजका लागि आवेदन मागेपछि हजारौँले आवेदन दिए र त्यसमध्ये १० जनालाई मात्र अन्तर्वार्तामा बोलायो । ती १० जनामध्ये एकजना थिइन् शर्मिला । शर्मिलालाई अन्तर्वार्तामा पुगेपछि आफूलाई किन लिइएन आजसम्म थाहा छैन । तर, उनलाई कुनै गुनासो पनि छैन । उनले केही वृत्तचित्र र रंगमञ्चमा पनि अभिनय गरेकी छन् । तर, यतापट्टि उनलाई खासै चासो छैन । र, रहर पनि । यसका बाबजुद ‘आर्ट मूभी’ र समाजमा सकारात्मक प्रभाव पार्ने खालका भूमिकाको अफर आयो भने आफूले स्वीकार्ने उनले बताइन् । तर, यसमा पनि उनको सर्त छ, ड्युटी फस्ट ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट