जापानमा सन् २०१० यताकै उच्चतम बचत

प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार

टोक्यो, ९ चैत्र । गत फेब्रुअरी महिनामा मासिक राष्ट्रिय ब्यापार तथा बाणिज्यगत कारोबारमा सन् २०१० यताकै अति उच्चतम बचत आर्जन गर्न जापान सफल भएको छ ।

यस अवधिमा जापानबाट अत्याधुनिक ठूला मेसिनरी तथा विद्युतीय उपकरणहरुको चीन निर्यातमा २८ प्रतिशत वृद्धिले गर्दा पनि उच्चतम मुनाफा आर्जन गर्न जापान सफल भएको जनाइएको छ । यस्ता अत्याधुनिक ठूला मेसिनरी तथा विद्युतीय उपकरणको प्रयोगबाट चीनले पनि निर्यातयोग्य गुणस्तरीय सर–सामान उत्पादन गर्न सफल भएको जनाइएको छ ।

हालै प्रकाशित जापानको भन्सार तथा महसूलसम्बन्धी तथ्यांक प्रतिवेदनमा कूल राष्ट्रिय निर्यातमा ११ प्रतिशतले वृद्धि भएको तथा कूल राष्ट्रिय आयातमा भने एक प्रतिशतले कमी आएको समेत उल्लेख छ । त्यस्तै, राष्ट्रिय निर्यात बचततर्फ गत वर्षको तुलनामा २ गुणा वृद्धि भई यस वर्ष ८ खर्ब १३ अर्ब ४० करोड जापानी येन (७ अर्ब ३० करोड अमेरिकी डलर) पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आउनु र मुद्राको दर स्थिर रही अमेरिकी डलरको तुलनामा जापानी येन बलियो हुन सक्नुले नै मूलरुपमा राष्ट्रको अर्थतन्त्र चलायमान तुल्याउन आवश्यक पर्ने आयातित ग्यास र इन्धनको लागत कम गराउन सकी यस प्रकारको राष्ट्रिय उपलब्धि हासील हुनसकेको जापानी अर्थविद्हरुको निष्कर्ष छ ।

साथै, अमेरिकासँगको व्यापारतर्फ निर्यातमा शून्य दशमलब चार प्रतिशतले वृद्धि भइ ११ अर्ब अमेरिकी डलर पुगेको छ भने आयाततर्फ केही कमी आई ६ खर्ब ११ अर्ब जापानी येन (५ अर्ब ५० करोड अमेरिकी डलर बराबर) रकमको राष्ट्रिय ब्यापार बचत हासिल भएको समेत उक्त प्रतिवेदनले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट