नुवाकोटमा एक अर्बको आलु उत्पादन

प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार

त्रिशूली, ९ चैत । गत वर्षको तुलनामा यो वर्ष आलु उत्पादनमा धेरै वृद्धि आएको छ । नुवाकोटमा यस वर्ष १ अर्ब १० करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको छ ।

बर्खे र हिउँदे याममा गरी ७२ हजार ७ सय मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए । उनका अनुसार गत वर्ष ८७ करोड रुपैयाँ बराबरको तथा अघिल्लो वर्ष ८५ करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको थियो ।

‘अघिल्लो वर्षको तुलनामा आलु लगाउने क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएको छ,’ डा गैरेले भने, ‘किसानले व्यावसायिक रुपमा सुरु गरेको खेती प्रणाली र पद्धति सही रुपमा अवलम्बन गर्दा आलुमार्फत् जिल्लामा ठूलो रकम भित्र्याउन सफल भएका छौँ ।’

जिल्लामा यस वर्ष आलुको उत्पादनमा वृद्धि तथा उचित मूल्य पाएपछि किसान उत्साहित भएका छन् । स्थानीय बजारमा अहिले आलुको मूल्य प्रतिकिलो १३ देखि १५ रुपैयाँमा कारोबार हुँदा किसान प्रतिकिलो ५ रुपैयाँसम्म नाफा गर्न सफल भएका खानीगाउँका भीमप्रसाद ढकाल बताउँछन् । ‘व्यापारी आलु खरिद गर्न खेतमै आउने गरेकाले बजारको समस्या छैन’, ढकालले भने ।

जिल्लामा २ याममा गरी ४ हजार ३ सय हेक्टरमा आलु लगाइएको छ । प्रतिहेक्टर करिब १७ मेट्रिक टन आलु उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत डा गैरेले बताए । अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन ३ प्रतिशतले वृद्धि भएको उनले बताए ।

जिल्लाको प्रायः सबै स्थानमा आलु उत्पादनका लागि सुहाउँदो हावापानी रहेको छ । जिल्लाको माथिल्लो क्षेत्रका करिब ८ सय हेक्टरमा लगाइएको बर्खे आलु भदौ महिनामा ९ हजार ४ सय मेट्रिक टन उत्पादन भएको थियो । फागुन÷चैतमा उत्पादन हुने गरी ३ हजार ६ सय हेक्टरमा लगाइएको आलु ६३ हजार ९ सय मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । उक्त परिमाण गत वर्षभन्दा ८ हजार मेट्रिक टन बढी हो ।

जिल्लाको चौघडा, खानीगाउँ, गणेशस्थान, नर्जामण्डप, थानसिंह, खरानीटार, बेलकोट, मदानपुरलाई आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ । जिल्लामा उत्पादन भएको आलु खरिद गर्न काठमाडौं, तनहुँ, पोखरा, बुटवलका व्यापारी आउने गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट