एउटा बाख्राबाट सुरु गरेर ‘नमुना उद्यमी’ बने रनबहादुर

प्रकाशित मिति: ९ चैत्र २०७३, बुधबार

बागलुङ, ९ चैत । अठार वर्ष प्रवासमा बिताएर घर फर्केका ५३ वर्षीया रनबहादुर थापाको परिचय अहिले नुमना उद्यमीमा फेरिएको छ ।

काठेखोला गाउँपालिका–४ का थापाले १० वर्षअघि एउटा बाख्राबाट सुरु गरेको व्यवसाय अहिले व्यवस्थित ‘फार्म’ मा परिणत भएको छ । थापाले बनाएको ‘नमुना बाख्रापालन फार्म’ मा हाल ३५ वटा बाख्रा छन् । मासिक ५/६ वटा बाख्रा बिक्री गर्ने गरेको उनले बताए ।

‘वार्षिक २ लाख रुपैयाँसम्म आम्दानी हुन्छ’, उनले भने । २ लाख ५० हजार रुपैयाँको लगानीमा सुरु गरेको बाख्रापालन सफल भएपछि थापाले माछापालन, तरकारीखेती र मौरीपालनसमेत सुरु गरेका छन् ।

कृषि कर्मबाटै थापाले घरपरिवारको खर्च चलाउँदै आएको छ । उनले खोर मर्मतका लागि जिल्ला पशुसेवा कार्यालयबाट २० हजार रुपैयाँ अनुदान पाएका छन् । थापाको बाख्रापालन फार्मलाई जिल्लाकै नमुना मानिन्छ । उनले आधुनिक र व्यवस्थित खोरमा बाख्रापालन गर्दै आएका छन् । थापाको फार्ममा उन्नत जमुनापारी क्रस र स्थानीय खरी जातका बाख्रा, बोका र खसी छन् ।

एउटै बोका ११ हजारदेखि २५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको थापाले बताए । साना पाठापाठी भने ३ हजारदेखि ४ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेका छन् । थापालाई हेफर इन्टरनेसनलले केही वर्षअघि ६ वटा बाख्रा किन्न बिना ब्याज ऋण उपलब्ध गराएको थियो ।

सोही परियोजनाबाट नश्ल सुधारको लागि १२ हजार मूल्यको उन्नत जातको बोका पनि थापाले प्राप्त गरेका छन् । नश्ल सुधारका लागि फार्ममा उन्नत जातको बोका पाल्ने गरेको थापाले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट