सगरमाथा आरोहीको जिपिएस ट्र्याकिङ गरिने

प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलवार

काठमाडौं, ८ चैत । नेपाल सरकारले सगरमाथा आरोहीहरुलाई जिपिएस सिस्टममार्फत् ट्र्याकिङ गर्ने भएको छ । त्यसका लागि पर्यटन विभागले सरोकारवालासँग छलफल अघि बढाएको छ । सुरुमा परीक्षणको लागि प्रयोग गर्ने र पछि सबै आरोहीलाई ट्र्याकिङ गर्ने योजना बनाइएको छ ।

केही आरोहीले सगरमाथा सफलतापूर्वक चढेको भन्दै झूटो विवरण दिने गरेको पाइएपछि सरकारले जिपिएस सिस्टममार्फत् ट्र्याकिङ गर्न लागेको हो । यसअघि भारतीय एक दम्पतिले सगरमाथा चढेको भनेर नक्कली फोटो सार्वजनिक गरेका थिए ।

जिपिएस ट्र्याकिङबारे म्यानुफ्याक्चरिङ कम्पनीसँग एक चरणमा छलफल गरिसकेको पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालले बताए । ‘सरोकारवालासँग पनि छलफल गर्छौँ र उपयुक्त लागेमा आगामी अटम सिजनदेखि लागू गर्ने तयारीमा छौँ,’ उनले भने ।

यस्तो प्रविधि विकसित देशहरुले प्रयोग गर्दै आएको भए पनि नेपालमा भने भर्खर परीक्षणको तयारी भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट