असिनाका कारण लिची र आँपमा क्षति

प्रकाशित मिति: ८ चैत्र २०७३, मंगलवार

उदयपुर, ८ चैत । दक्षिणी क्षेत्रबाट आएको वर्षासँगैको हावाहुरी तथा असिनाले पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्दरपुर क्षेत्रका लिची तथा आँपमा ठूलो क्षति पु¥याएको छ ।

सोमबार दिउँसो अचानक वर्षासँगै आएको हावाहुरी र असिनाले उदयपुरको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायतका भर्खरै फुल्न थालेको आँप र लिचीको फूललाई क्षति पु¥याएको हो ।

हँडिया राजाबासका स्थानीय राजकुमार प्रधानले भने, ‘यो आँप र लिचीको फूल फुल्ने र फल लाग्न सुरु गर्ने समय हो, बगैँचामा आँप तथा लिची फुलेर भर्खरै सानासाना फलसमेत लाग्न सुरु गरेका बेला अचानक आएको असिनाले फूल खसाइदियो ।’ हावाहुरी र असिनाका कारण यसपटक यस क्षेत्रमा आँप र लिची उत्पादनमा ठूलो क्षति पुगेको उनले बताए ।

यसक्षेत्रमा लामो समयदेखि धेरै कृषकले व्यावसायिकरुपमा आँप तथा लिचीखेती गर्दै आएकोमा सोमबारको असिनाले ठूलो क्षति पु¥याएको भागलपुरका डिकबहादुर राईले बताए । उदयपुर जिल्लामा जोगिदह, हँडिया, सुन्दरपुर र तपेस्वरी क्षेत्र आँपको पाकेट क्षेत्र मानिने गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट