बारीमै कुहिन थाले अदुवा

प्रकाशित मिति: ७ चैत्र २०७३, सोमबार

पर्वत, ७ चैत । पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्रीका लागि बजार नपाए पछि निराश भएका छन् । बिक्री नभएपछि यहाँका कृषकले उत्पादन गरेको पाँच हजार किलो अदुवा बारीमै कुहिन थालेको छ ।

मकै र कोदो छाडेर अदुवाखेतीमा लगाएका यहाँका कृषकलाई अदुवा बिक्री गर्न बजार अभाव भएको छ । लेकफाँट, शालिजा, बाँसखर्क, क्याङमा उत्पादन भएको अदुवाले बजार पाउन नसकेको हो ।

‘प्रतिकिलो रु ८० मा बीउ किनेर लगाएको अदुवा रु २० मा पनि बिक्री भएन,’ लेकफाँट देउरालीका कृषक कुलप्रसाद सुवेदीले भने ‘लगानीसमेत उठ्न नसक्ने अवस्था छ ।’

सो क्षेत्रमा उत्पादित अदुवाको प्रमुख बजार म्याग्दीको बेनी, कुश्मा, पोखरा र भारत हो । नेपालमा अदुवाको प्रयोग न्यून छ भने यसलाई प्रशोधन गरेर अन्य परिकार बनाउने उद्योगको अभाव छ ।

दुई वर्ष अगाडीसम्म अदुवा प्रतिकिलो रु ६० देखि रु ८० मा बिक्री भएको स्थानीय कृषक राधिका सुवेदी बताउछन् । यातायातको सुविधा नहुँदा यहाँका कृषक पिठ्यूमा बोकेर म्याग्दीको बेनीसम्म अदुवा, दूध, तरकारीलगायत कृषि उपज बिक्री गर्दैआएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट