कृषकले पाए ८ लाखसम्म अनुदान

प्रकाशित मिति: ६ चैत्र २०७३, आईतवार

बनेपा, ६ चैत । पशु उत्पादनलगायत विभिन्न शीर्षकमा काभ्रेपलाञ्चोकका कृषक तथा सहकारी संस्थाले रु पाँच सयदेखि आठ लाखसम्म अनुदान पाएका छन् ।

पशु आहार, सहकारी खेती तथा बङ्गुरपालन कार्यक्रमका लागि कृषकलाई उक्त अनुदान जिल्ला पशु सेवा कार्यालयले वितरण गरेको हो । ‘यसबाट उत्पादन बढाउने र कृषकलाई आत्मनिर्भर गराउने उद्देश्य हो,’ जिल्ला पशु सेवा कार्यालय , धुलिखेलका पशु चिकित्सक सापकोटाले भने ।

पशु चिकित्सक सापकोटाले जिल्लामा कुल रु एक करोड ४५ लाख कृषक र सहकारीलाई अनुदान उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । युवा लक्ष्यित पशु उत्पादन शीर्षकमा छजना कृषकलाई रु एक लाख ७० हजारका दरले अनुदान उपलब्ध गराइसकिएको छ ।
त्यस्तै, गाई तथा भैँसीपालनमा २० जनालाई रु एक–एक लाख र बाख्रापालनमा रु दुई–दुई लाख उपलब्ध गराइएको छ । त्यसैगरी, बङ्गुरपालनमा एकजनाले रु चार लाख र पाँचजनाले रु दुई–दुई लाख अनुदान पाएका छन् ।

उता कुखुरापालनतर्फ सहकारी संस्थालाई रु पाँच लाख, पशु आहार मिसनतर्फ रु पाँच सयदेखि २० हजार र बङ्गुरपालनमा रु आठ लाख एक सहकारी संस्थालाई उपलब्ध गराइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट