वैदेशिक रोजगारीबाट फर्केर तरकारी खेतीतर्फ आकर्षित युवा

प्रकाशित मिति: ५ चैत्र २०७३, शनिबार

पाल्पा, ५ चैत । पाल्पा खानीछाप गाविसका युवा वैदेशिक रोजगारीबाट फर्केर तरकारी खेती गरी मनग्य आम्दानी गर्न थालेका छन् ।

नेपाली युवाका लागि ऋण खोजेर विदेशमा आफ्नो श्रम र पसिना पोख्न बाध्य हुनुभन्दा स्वदेशमै सानो लगानीमा सुरु गरेको तरकारी खेतीबाट वार्षिक रु एक लाख भन्दा बढी आम्दानी गरेर उनीहरुले सबल उदाहरण प्रस्तुत गरेका हुन् ।

सिँचाइको उपयुक्त सुविधा नभएपनि कडा परिश्रम र मेहनतका साथ गरेको तरकारीखेतीबाट राम्रो आम्दानी लिन थालेपछि यहाँका युवा यसतर्फ आकर्षित भएका हुन ।

कतारबाट फर्केपछि  एक रोपनी जग्गामा तरकारीखेती सुरु गरेका खानीछाप–५ का हीराबहादुर गाहा १२ वर्ष विदेशमा श्रम र पसिना पोखेर अन्त्यमा स्वदेशमै तरकारी खेतीतर्फ लागे । आफुले अहिले वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएकोे उनी बताउँछन् ।

वैदेशिक रोजगारीबाट फर्केर खानीछाप– ५ का पूर्णबहादुर गाहाले पनि दुई रोपनी जग्गामा तरकारीखेती गरेका छन् । उनले आफ्नै बारीमा काउली, बन्दा, गोलभेँडालगायतका तरकारी गरेका छन् । तरकारी उत्पादनबाट उनले सबै खर्च कटाएर वार्षिक लगभग रु एक लाख आम्दानी गर्ने गरेको बताउँछन् ।

यहाँ उत्पादित तरकारी सदरमुकाम तानसेन, राम्दी र स्याङ्गजा जिल्लामा निकासी हुँदै आएको आदिवासी जनजाति गाउँ समन्वय समिति खानीछापाका संयोजक लक्ष्मण गाहाले बताए ।

वैदेशिक रोजगारीमा गएका युवा घर फर्केर तरकारीखेती गर्न थालेसँगै गाउँमा बस्ने युवाको सङ्ख्यामा बृद्धि भएको छ ।विदेशमा दुःख गरी आम्दानी गर्नु भन्दा गाउँमै घरपरिवारसँग रमाउँदैं तरकारीखेती गर्न सहज भएको स्थानीय युवा बताउँछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट