११ वर्ष विदेश बसेका गोविन्दको कमाइ नेपालमै ७ लाख

प्रकाशित मिति: ३ चैत्र २०७३, बिहीबार

म्याग्दी, ३ चैत । मङ्गला गाउँपालीका–१ कुहुँका गोविन्द केसीले मौरीपालनबाट वार्षिक रु सात लाख आम्दानी गरेका छन् ।

चार वर्ष साउदी अरब र सात वर्षसम्म इराकमा श्रम गरेका ३९ वर्षीय केसीले चार वर्षअघि गाउँ फर्किएर मौरीपालन सुरु गरेका हुन् । छिमेकी गाउँ डडुवाबाट तीन घार मौरी किनेर मौरीपालन सुरु गरेका केसीले गत वर्ष मौरीसहितका ९४ घार बिक्री गरी रु सात लाख आम्दानी गरेका थिए ।

‘यसपाली दुई सय घार मौरी बेच्ने लक्ष्य छ,’ उनले भने । गत वर्ष उनले रु एक लाख ५० हजार बराबरको मह बिक्री गरेका थिए । अहिले उनले एपी सेरेना जातको ९८ घार मौरी पाल्नु भएको छ । केसीले प्रतिघार मौरी रु छ हजार ५०० तथा मह प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएका छन् ।

एउटै घारबाट वर्षमा तीन वटासम्म घार छुट्टाउन सकिने उन बताए । कम समयमै मनग्य आम्दानी गर्न सकिने भएकाले मौरीपालन आयआर्जनका लागि उपयुक्त माध्यम बन्न सक्ने केसीको अनुभव छ । उनी जिल्ला कृषि विकास कार्यालयद्वारा प्रदान गरिने राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट