फागुन १२ देखि औद्योगिक प्रदर्शनी हुने

प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल

काठमाडौँ, १० फागुन । यही फागुन १२ गतेदेखि घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा २८औँ औद्योगिक प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ ।

समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायका अनुसार ‘मेड इन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ’ नाराका साथ हुन लागेको उक्त प्रदर्शनीमा स्थानीयस्तरमा उत्पादन भएका घरेलु सामग्रीलाई प्रदर्शन गर्न लागेको छ । स्वदेशी वस्तुलाई एउटै छानामुनीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

प्रदर्शनीमा ७५ वटै जिल्लाका तीन सयभन्दा बढी लघु, घरेलु तथा साना उद्यमीको सहभागिता रहने समितिका कामु उप कार्यकारी निर्देशक राजेन्द्र मिश्रले बताए । उनले भजे “प्रदर्शनीमा प्रदेश अनुसार छुट्टाछुटै कक्ष राखिनेछ ।”

प्रदर्शनीमा प्राकृतिक रेशाबाट उत्पादित कपडा, सुर्खेत, जाजरकोटको किमती रत्न पत्थर, सिस्नुको पाउडर, जडीबुटी, बाँसका कपडा, मिथिला आर्ट, छ्वालीका विविध सामान, करुवा, खुकुरी, हातेकागज, अर्गानिक कफी, अल्लोबाट निर्मित सामान, ढाकाबाट निर्मित सामान तथा छालाजन्य वस्तु राखिने बताइएको छ ।

समितिले हालसम्म एक लाख दुई हजार बढीलाई लघु उद्यमीसम्बन्धी तालिम दिइसकेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट