वीरगन्ज नाका भएर इन्धन आयातमा बृद्धि

प्रकाशित मिति: ७ फाल्गुन २०७३, शनिबार

पर्सा, ७ फागुन । रु साढे ३२ अर्ब भन्दा बढीको इन्धन वीरगन्ज नाका भएर आयात भएको छ ।

यो नाका भएर चालु आर्थिक वर्षको पहिलो सात महिनामा  रु ३२ अर्ब ६३ करोड ३८ लाख मूल्य बराबरका पाँच लाख ४७ हजार ९०५ केल इन्धन र ९९ हजार ३४० मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको बीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा यो नाकाबाट रु ३० अर्ब ६४ करोड ७३ लाख छ हजार मूल्य बराबरका एक लाख २३ हजार ९०३ केल इन्धन र २४ हजार ४११ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको थियो ।

यो गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सोहि अवधिमा रु एक अर्ब ९८ कारोड ६५ लाख बढी भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्त पोखरेलले जानकारी दिए ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगन्ज नाकाबाट भएको इन्धन आयातबाट भन्सार कार्यालयले रु सात अर्ब ६७ करोड ८१ लाख राजस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्षको सात महिनामा वीरगन्ज नाकाबाट एक लाख २३ हजार ८६२ केल पेट्रोल , ८० हजार ६६२ केल एटिएफ (हवाई इन्धन), ६ हजार ३१७ केल मट्टितेल र तीन लाख ३६ हजार ७६४ केल डिजल आयात भएको छ ।

नेपालक लागि वीरगन्ज नाका प्रयोग गरी भारतको रक्सौल, बरौनी, मथुरा, हल्दिया लगायतका स्थानबाट  पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यास आयात हुने गरेको छ ।

नेपालको लागि आवश्यक इन्धनको ६० प्रतिशत इन्धन वीरगन्ज नाकाबाटै आयात हुने गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट