५० प्लास्टिकका पोखरी निर्माण

प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल

म्याग्दी, ५ फागुन । जिल्लामा यस वर्ष ५० वटा प्लास्टिकका पोखरी निर्माण गरिने भएको छ ।

फलफूल तथा तरकारीको उत्पादन वृद्धि गर्न र कृषकलाई व्यावसायिक रुपमा अगाडि बढाउने उद्देश्यसहित चालु आवको वार्षिक कार्यक्रमअनुसार पोखरी निर्माण गर्न लागिएको हो ।

कृषि विकास कार्यालयका अनुसार साना सिँचाइ कार्यक्रमअन्तर्गत ४७ र सुन्तला बगैँचाका लागि ३ वटा पोखरी निर्माण गरिने छ । पाइप खरिद तथा कुलो निर्माण गरी कृषि क्षेत्रको विकास गर्न तथा किसानलाई राहत दिन जिल्ला कृषि विकास समितिको बैठकबाट प्लास्टिक पोखरी छनोट गरिएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताए ।

उनले भने- ‘जिल्लामा सिँचाइको व्यवस्था सहज नभएकाले किसानको करेसाबारी, खेत तथा पाखो र बाँझो ठाउँको उपयोग गर्ने गरी लगाइएको तरकारी तथा फलफूलमा सिँचाइको लागि पानी सङ्कलन गर्न प्लास्टिक पोखरी निर्माण गर्ने तयारी गरिएको छ ।’

कृषि विकास अधिकृत रिजालका अनुसार यसैबीच जिल्ला कृषि विकास कार्यालयले ७५ प्रतिशत अनुदानमा किसानलाई उन्नत जातको मकैको बीउ वितरण गरिरहेको जनाएको छ । प्रतिकिलो १२ रुपैयाँ ५० पैसाका दरले पहाडी क्षेत्रमा मकैको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यसहित मनकामना र अरुण जातको बीउ उपलब्ध गराइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट