आजबाट स्ववियु निर्वाचन प्रक्रिया सुरु

प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

रिपोर्टर नेपाल

काठमाडौं, १ फागुन । आइतबारदेखि औपचारिकरुपमा त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया सुरु भएको छ । आइतबार विश्व विद्यालयले फागुन १४ गते गर्न लागेको स्ववियु निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्दैछ ।

त्रिविले विभिन्न क्यापसमा विद्यार्थी भर्नासमबन्धी विवाद सुल्झिएपछि निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्न लागेको हो । शुक्रबारसम्म भर्ना भएका विद्यार्थीको नामावली सार्वजनिक गर्ने गरी विद्यार्थी संगठनबीच सहमति जुटेको छ ।

आइतबार मतदाता नामावली प्रकाशन भएपछि फागुन ४ गते उम्मेदवारको मनोयनपत्र दर्ता गर्ने र ५ गते उम्मेदवारको नामावली प्रकाशन हुने स्ववियु निर्वाचन तालिकामा उल्लेख छ । उम्मेदवारमाथि परेको दाबी विरोधपछि फागुन ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

स्ववियु चुनावमा सभापति, कोषाध्यक्ष र सचिवका लागि प्रत्यक्ष निर्वाचन हुने छ भने अरु पदका लागि समानुपातिक आधारमा चुनिने छन् ।

काठमाडौंको त्रिचन्द्र, अमृत साइन्स, नेपाल कमर्स क्याम्पस लगायतमा फर्जी विद्यार्थी भर्नासम्बन्धी विवाद बढेको थियो । यद्यपि, अझै केही क्याम्पसहरुमा भने विद्यार्थी भर्नासम्बन्धी विवाद सुल्झिनसकेको छैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट