असुरक्षित गर्भपतनको सङ्ख्या बढ्दो

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल

काठमाडौँ, २८ माघ । असुरक्षित रुपमा गर्भपतन गराउने महिलाहरुको संख्यामा वृद्धि भएको छ । गर्भपतनले कानुनी मान्यता पाएको १७ वर्ष बितिसक्दा पनि ५८ प्रतिशत महिलाले अझै असुरक्षित रुपमा गर्भपतन गराएको पाइएको हो ।

स्वास्थ्य मन्त्रालयबाट स्वीकृति वा तालिम नलिएका व्यक्तिबाट गराइने गर्भपतनलाई असुरक्षित गर्भपतनका रुपमा लिइन्छ । नेपालमा सन् २०१४ मा करिब तीन लाख २३ हजार गर्भपतन भएकामा ४२ प्रतिशतले मात्र स्वास्थ्य मन्त्रालयबाट स्वीकृति वा तालिम लिएका व्यक्तिबाट गर्भपतन सेवा लिएका छन् ।

शुक्रबार वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) र अमेरिकास्थित गुडमाकर इन्स्टिच्युटद्वारा संयुक्तरुपमा सम्पन्न ‘नेपालमा अनिच्छित गर्भ र गर्भपतन’सम्बन्धी सार्वजनिक प्रतिवेदनमा सुरक्षित गर्भपतन सेवाभन्दा असुरक्षित सेवा लिनेको सङ्ख्या बढी भेटिएको हो ।

परिवार स्वास्थ्य महाशाखाका अनुसार नेपालमा सन् २००२ मा गर्भपतनले कानुनी मान्यता प्राप्त गरे तापनि सन् २००४ देखि मात्र गर्भपतन सेवा सुरु भएको थियो । हालसम्म स्वास्थ्य मन्त्रालयबाट स्वीकृति वा तालिम लिएका व्यक्तिबाट करिब आठ लाख ५० हजार महिलाले गर्भपतन सेवा उपभोग गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१४ मा करिब १० लाख ४८ हजार प्रजनन उमेर समूह ९१५ देखि १९ वर्ष० महिला गर्भवती भएका थिए । तीमध्ये करिब तीन लाख २३ हजार महिलाले मात्र गर्भपतन सेवा लिएका अध्ययनबाट देखिएको छ ।

हिमाल, पहाड, मधेस सबै क्षेत्रमा प्रतिनिधित्व हुने गरी २७ जिल्लाका ३८६ स्वास्थ्य संस्थामा सो अध्ययन सम्पन्न गरिएको थियो । सबैभन्दा कम अनिच्छित गर्भपतन सेवा सुदूरपश्चिमाञ्चल विकास क्षेत्र र सबैभन्दा वढी मध्यमाञ्चल विकास क्षेत्रमा सेवा लिएका अध्ययनको नतिजामा देखिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट