आजदेखि हिमालयको काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

काठमाडौँ, २८ माघ । आजदेखि निजी क्षेत्रको विमान सेवा हिमालय एअरलायन्सले काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित विशेष समारोहमा प्रथम उडान सेवाको शुभारम्भ गरेका हुन ।

आजको उडानमा विमानका सबै सिट भरिएका उक्त एअरलाइन्सले जनाएको छ । नेपाल–चीन संयुक्त लगानीको उक्त विमान सेवाले एअरबस–३२० विमानबाट उडान थालेको हो ।

मन्त्री शाही, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, मलेसियाली राजदूतावासका कार्यवाहक प्रमुख फादिल इस्माइल लगायत २० जनाको उच्चस्तरीय प्रतिनिधिमण्डल क्वालालम्पुरको प्रथम उडानबाट मलेसियाली राजधानीतर्फ प्रस्थान गरेको छ ।

हिमालय एअरलाइन्स र नेपाली प्रतिनिधिमण्डललाई टुरिजम मलेसियाका विशिष्ट पदाधिकारी तथा पर्यटन व्यवसायीले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा आजै विशेष स्वागत गर्ने कार्यक्रम रहेको उक्त एअरलाइन्सले जनाएको छ ।

यात्रुहरुले करबाहेक रु २५ हजार तीनसय ७५ मा काठमाडौँ–क्वालालम्पुरको दुईतर्फी उडानको टिकट खरिद गर्न सक्ने, उक्त विमान सेवाले कतारको दोहा, श्रीलङ्काको कोलम्बो उडान थालिसकेको छ भने आगामी फागुन १३ गतेदेखि म्यान्माको पुरानो राजधानी याङ्गुनलाई पनि काठमाडौँसँग सिधा उडानबाट जोड्ने जानकारी दिइएको छ ।

मङ्गलबार र शनिबारबाहेक सातामा पाँच दिन काठमाडौँ–क्वालालम्पुर उडान हुने, त्यसबाट नेपाल र मलेसियाबीचको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट