कुखुराको मासुमा मूल्य वृद्धि

प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल

चितवन, २५ माघ । चितवनमा ब्रोइलर कुखुराको चल्लाको मूल्य बढेको दुई दिन बित्न नपाउँदै व्यवसायीले कुखुराको मासुको मूल्य समेत बढाएका छन् ।

ब्रोइलर मासुको मूल्य जिउँदोमा प्रतिकिलो रु १० र तयारी मासुमा रु २० रुपैयाँका दरले मूल्य बढाएको नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घले जनाएको छ । बढेको मूल्य अनुसार जिउँदो मासुको मूल्य प्रतिकिलो रु १८० पुगेको सङ्घले जनाएको छ । यसअघि जिउँदो ब्रोइलरको मासु प्रतिकिलो रु १७० कायम गरिएको थियो ।

नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालका अनुसार फ्रेसमासु प्रतिकिलो रु २८० सम्म तिरिरहेका उपभोत्ताले अबदेखि प्रतिकिलो रु ३०० तिर्नुपर्ने भएको छ । मासुको माग बढ्दै गएको र त्यसको तुलनामा ब्रोइलर कुखुराको उत्पादन कम भएका कारण मूल्य बढाउनुपरेको उनले बताए ।

हाल देशभर ब्रोइलर कुखुराको दैनिक उत्पादन करिब आठ लाख किलो छ । चितवनमा मात्रै दैनिक ७० हजार किलो मासु उत्पादन हुन्छ । यहाँको उत्पादनमध्ये करिब ३० प्रतिशत जिल्लामा खपत हुन्छ । बाँकी उत्पादन काठमाडौँलगायत मुख्य सहरमा पठाइन्छ । जिल्लामा व्यावसायिक कुखुरा पाल्ने किसानको सङ्ख्या ७०० देखि ८०० को हाराहारीमा रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट