निर्वाचनमा दल विशेषभन्दा कार्यसूचीलाई ख्याल गर्न आग्रह

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल

काठमाडौँ, २४ माघ । जापानका विज्ञ तथा वरिष्ठ सञ्चारकर्मीले सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणाको तयारी गरिरहेको बेला दल विशेषभन्दा पनि कार्यसूचीका आधारमा मात्रै सञ्चार सामग्री प्रकाशन तथा प्रसारण गर्नुपर्नेमा जोड दिएका छन् ।

कुनै पनि दल विशेषलाई प्राथमिकता नदिने बरु एजेन्डा र कार्यक्रम आम जनताकोबीचमा लैजाने र निर्वाचनको स्वतन्त्रता र निष्पक्षतालाई विशेष ख्याल गर्नु पर्ने औल्याउँदै जापानको प्रमुख प्रसारण संस्था एनएचकेले निर्वाचन मुलुक र जनताको लागि हो भन्ने विषयलाई प्रमुख प्राथमिकतामा राख्ने गरेको बताए ।

दलले पाएको मतको आधारमा प्रसारण संस्थामा उनीहरुको विचार तथा घोषणा पत्रमा समावेश गरिएका विषयवस्तु राख्ने समय प्रदान गरिने र निर्वाचन आयोगले बनाएको आचारसंहितालाई अक्षरशः पालना गरिने तथा समान रुपमा दल र तीनका गतिविधिलाई स्थान दिने जापानको परम्परा रहेको भन्दै उनीहरुले एनएचकेको सम्पादनमा स्वतन्त्रतापूर्वक निर्वाचन कानुनमा आधारित रहेको सामग्री प्रसारण गरिने समेत जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभाग र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोगले आयोजना गरेको निर्वाचनलाई कसरी बढी प्रजातान्त्रिक बनाउन सकिन्छ र त्यसमा आम सञ्चारमाध्यमको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयको कार्यशालामा सहभागी वक्ताले निर्वाचन सम्बन्धी समाचार प्रसारण गर्ने क्रममा प्रसारण संस्थाले संक्षिप्त र स्वच्छ आंकलन गर्दै स्वतन्त्र रुपमा समाचार प्रसारण गर्ने गरेको उल्लेख गरे ।

जनतालाई राजनीतिक र चुनावप्रति रुचि र राजनीतिक सचेतना अभिवृद्धि गर्ने, निर्वाचन कानुन, प्रसारण कानुन र संस्थाको कार्यक्रम सम्बन्धी मापदण्डलाई शिरोपर गर्दै वास्तविक घटनामा आधारित रहेर आलेख तथा रिपोर्ट बनाउने गरेको सन्दर्भ समेत जानकारी गराए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट