२३ लाखले अवलोकन गरे नारायणहिटी दरबार

प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल

काठमाडौँ, २३ माघ । हालसम्म नारायणहिटी दरबार सङ्ग्रहालयमा २३ लाख १५ हजार सात सय सात पर्यटकले अवलोकन गरेका छन् ।

विसं २०६५ फागुन १४ गतेदेखि नारायणहिटी दरबार सङ्ग्रहालय खुलेपछि विसं २०७३ को पुस मसान्तसम्म सङ्ग्रहालय अवलोकन गर्ने मध्ये सबैभन्दा धेरै नेपाली छन् भने विदेशी पर्यटकको संख्या कम छ ।

हरेक हप्ताको मङ्गलबार, बुधबार तथा सार्वजनिक बिदामा बन्द रहने सङ्ग्रहालयमा हालसम्म ११ लाख ३४ हजार सात सय ४६ सर्वसाधारण, नौ लाख ९५ हजार पाँच सय ४९ विद्यार्थी, एक लाख ३० हजार एक सय ८८ सार्क तथा चिनियाँ नागरिक र ५५ हजार दुई सय २४ तेस्रो मुलुकका पर्यटकले अवलोकन गरेको सङ्ग्रहालयका प्रमुख रोहितकुमार ढुङ्गानाले जानकारी दिए ।

हालसम्म स्वदेशी तथा विदेशी पर्यटकबाट सङ्ग्रहालयले रु १९ करोड ४७ लाख ८२ हजार नौ सय ८५ आम्दानीसमेत गरेको छ । सङ्ग्रहालय घुम्न आउने विद्यार्थीका लागि रु २०, नेपाली नागरिकका लागि रु १००, सार्क र चिनियाँ नागरिकका लागि रु दुई सय ५० र तेस्रो मुलुकका लागि रु पाँच सय शुल्क तोकिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट