म्याग्दीमा खानेपानी आयोजना निर्माण कार्य सुरु

प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल

म्याग्दी, २३ माघ । म्याग्दीमा रु छ करोड ९७ लाख ४० हजार सात सय १२ को लागतमा बृहत् चिमखोला खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ ।

सो आयोजनाबाट चिमखोलाका चार सय २८ घरपरिवार लाभान्वित हुने खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीले जानाएको छ ।

सबै घरमा मिटर सहितको निजी धारा जडान हुनेछ । आयोजनाअन्तर्गत २ देखि ७ नम्बर वडामा ढल निकासका लागि पूर्वाधारसमेत बनाइने भएको छ ।

आयोजनाअन्तर्गत एक लाख ५० हजार र चार हजार लिटर क्षमताका एक-एक र पाँच हजार लिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण हुने भएको छ । दुईवटा सार्वजनिक शौचालयसमेत निर्माण गर्ने योजना छ । ११ वटा स्किममा निर्माण हुने आयोजनाको १३ वटा मुहान रहेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

गत आर्थिक वर्ष २०७२/७३ मा सर्वेक्षण भएको सो आयोजनाका लागि चालु आवमा रु ३० लाख बजेट विनियोजना भएको सबडिभिजनले जनाएको छ । पूर्वाधार निर्माणको काम सुरु गर्न ओमबहादुर पुनको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिसँग सम्झौतासमेत भइसकेको जनाइएको छ ।

आयोजनामा उपभोक्ताको कुल लागतको २० प्रतिशत अर्थात् रु एक करोड ३९ लाख ४८ हजार एक सय ४२ बराबरको श्रम र नगद सहभागिता रहने छ । सार्वजनिक धाराबाट खानेपानीको उपभोग गर्दै आएका चिमखोलाका बासिन्दा गाउँमा बृहत् आयोजना भित्रिएपछि उत्साहित भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट