बिम्स्टेकको १७औँ संयुक्त कार्यदलको बैठक सुरु

प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

काठमाडौँ, २३ माघ । बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि १७औँ संयुक्त कार्यदलको बैठक सुरु भएको छ ।

नेपाली प्रतिनिधिमण्डलका नेता तथा परराष्ट्र मन्त्रालयका क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले बैठकको नेतृत्व गरेका छन । संयुक्त कार्यदल बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीका साथै सदस्य मुलुकबाट १० जनाभन्दा बढी प्रतिनिधि सहभागी छन् ।

बिम्स्टेकले प्राथमिकता निर्धारण गरेका सामाजिक–आर्थिक विकासका १४ क्षेत्रमा भएका प्रगतिको समीक्षाका साथै बिम्स्टेकको सचिवालयसँग सम्बन्धित वित्तीय तथा प्रशासनिक विषयबारे बैठकमा  छलफल गरिने छ ।

बिम्स्टेकले  जनस्वास्थ्य, सदस्य देशका जनता–जनताबीचको सम्पर्क विस्तार, गरिबी निवारण, व्यापार तथा लगानी, यातायात र सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, कृषि, मत्स्यपालन, वातावरण तथा विपद् व्यवस्थापन, प्रतिआतङ्कवाद र अन्तरदेशीय अपराध नियन्त्रण तथा जलवायु परिवर्तनलाई प्राथमिकताका क्षेत्रमा राखेको छ ।

दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकहरुको उपक्षेत्रीय सङ्गठन बिम्स्टेकको स्थापना सन् १९९७ मा भएको हो । बिम्स्टेकमा नेपाल, बङ्गलादेश, भारत, म्यान्मा, थाइल्यान्ड र श्रीलङ्का सदस्य छन् । सन् २००४ मा नेपालले सो सङ्गठनले सदस्यता प्राप्त गरेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट