र्‍याप गायक यमबुद्धको शव शनिबार नेपाल ल्याइदैं

श्रद्धाञ्जलीका लागि केही बेर प्रज्ञा भवन राखिने

प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

काठमाडौं, १४ माघ । माघ १ गते शनिबार बिहान लण्डनको साउथ ह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका यमबुद्धको नामले चिनिने चर्चित र्‍याप गायक अनिल अधिकारीको शव शनिबार नेपाल ल्याइने भएको छ ।

लण्डनमा श्रीमतीसंगै बस्दै आएका २९ वर्षीय अधिकारीले गत माघ १ गते (जनवरी १४) आत्महत्या गरेका थिए । परिवारले शव नेपाल ल्याउने इच्छा राखेपछि उनको शव इत्तेहाद एयरबाट शनिबार दिउँसो ३ बजे काठमाडौं ल्याउन लागिएको हो ।

एक दशकअघि नेपाली र्‍याप संगीतमा पाइला चालेका अधिकारीको ‘मेरो जुत्तामा’, ‘साथी’, ‘आउँदै छु म’, ‘फुटपाथ मेरो घर’ लगायत एल्बम निस्किएको छ ।

पछिल्लो समय  ‘खतरा’ नामक एल्बम ल्याउने तयारीमा रहेका उनी नेपाली हिपहप गायकका रुपमा निकै चर्चित थिए ।

त्रिभुवन विमानस्थलबाट उनको पार्थिव शरीर प्रज्ञा भवन कमलादीमा लगेर श्रद्धाञ्जलीका लागि केही समय राखिने र सोही दिन पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट