बन्दै छ विश्वकै ठूलो भैरव मखुन्डो

विश्व जगतमा नेपाललाई चिनाउन मद्दत

प्रकाशित मिति: १३ माघ २०७३, बिहीबार

काठमाडौँ, १३ माघ । विश्वकै सबैभन्दा ठूलो भैरवको मखुन्डो बनाउन अग्रज परम्परागत मूर्तिकार राजकुमार शाक्य लागिपरेका छन् ।

हरेक महिनाको दोस्रो बुधबार नेपाल ललितकला पत्रकार समाजले गर्दै आएको ‘कलाका कुरा’ को १५औँ श्रृंखलामा शाक्यले धातुको पातामा भैरवको मूर्ति कुँदिने बताए । उनले भने ‘त्यसले नेपाललाई विश्वमै चिनाउन मद्दत गर्ने छ ।’

नेपाली कलाको इतिहास दुई हजार वर्ष लामो रहेको र त्यसले हामीलाई आफ्नो पहिचान दिन सकेको बताउँदै उनले ‘नेपाली मूर्तिकलाको मौलिकताले हामीलाई समृद्ध र वैभवशाली बनाएको बताए । उनले भने हाम्रा पुर्खाको सीप र क्षमताले हामीलाई विश्वमै परिचित गराउन सकेको छ ।’ उनले नेपाली परम्परागत मूर्तिकलाका विविध आयाम र विकासबाट यसले प्राचीनकालदेखि नै आर्थिक विकासमा योगदान दिएको बताए ।

यस क्षेत्रमा परम्परागत रुपमा पारिवारिक पृष्ठभूमिबाटै लाग्ने अवस्था अहिले अन्त्य भएको छ । अचेल अन्य समुदायबाट पनि परम्परागत कलाका क्षेत्रमा लाग्नेहरुको सङ्ख्या बढ्दै गएको छ ।

राज्यले थोरै मात्र चासो राखेमा नेपाली कलाले विश्वमा आफ्नो प्रभुत्व जमाउनेमा उनी विश्वस्त छन् ।

उनले भने, ‘नेपाली परम्परागत कलाको सीप र कालिगढी क्षमता विश्वमै विशिष्ट रहेको छ । नेपाली कलाकारको माग लिच्छविकालदेखि नै अन्तर्राष्ट्रिय रुपमै रहेको थियो, जुन आजसम्म कायम छ ।’

समाजमा धार्मिक र आर्थिक उपार्जन गर्नमा कलाको भूमिका अहम् रहनेमा उनले जोड दिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट