शिक्षण छाडेर बाख्रापालनमा लागे सूर्यप्रसाद

प्रकाशित मिति: १३ माघ २०७३, बिहीबार

पाल्पा, १३ माघ । रामपुर नगरपालिकाका सूर्यप्रसाद रेग्मी शिक्षण पेसा छाडेर व्यावसायिक बाख्रापालन व्यवसायमा लागेका छन् ।

शिक्षण पेसाले परिवारको गुजारा चलाउन धौधौ भएपछि उनले पेसा नै छाडेर बाख्रापालन व्यवसाय सुरु गरेका हुन् । ४ लाख रुपैयाँको लगानीमा खोर निर्माण र ४० वटा माउ बाख्रा खरिद गरेर व्यवसाय सुरु गरेका रेग्मीले अहिले मनग्य आम्दानी गरिरहेका छन् ।

उनको फार्ममा अहिले ४५ वटा माउ बाख्रा, ११ वटा पाठा, ७ वटा खसी, १० वटा साना पाठी, एउटा ब्याडे बोका गरी जम्मा ७३ वटा बाख्रा रहेका छन् । उनले फार्ममा करिब १० लाख रुपैयाँको लगानी गरेका छन् । ४ वर्षसम्म शिक्षण पेसामा आबद्ध रहेका रेग्मीले बाख्रापालन व्यवसाय सुरु गरेपछि जिविकोपार्जन रहज बनेको छ । ‘शिक्षकको जागिरले खान लाउन मुस्किल प¥यो, समय बिताउने माध्यम मात्र बन्यो,’ उनले भने, ‘बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी भएको छ ।’

व्यवसायबाट वार्षिक रुपमा खर्च कटाएर ३ लाखदेखि ४ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । उनले स्थानीय क्रस, जमुनापारि क्रस र बोयर क्रस जातका बाख्रा पालेका छन् । सयवटा बाख्रा पाल्ने आफ्नो योजना रहेको उनले बताए ।

व्यवसायका लागि जिल्ला पशुसेवा कार्यालयले युवालक्षित कार्यक्रमअन्तर्गत केन्द्रीय भेडा बाख्रा प्रवद्र्धनमार्फत ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । उनले रामपुरको पहाडी भेगमा खेर गएको खाली जमिनको सदुपयोग गर्दै व्यवसाय गर्दै आएका छन् । उनी अहिले गाउँमा सफल व्यवसायी भनेर चिनिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट