नेपाल प्रहरीद्वारा रसुवागढी जाँच परीक्षण कडाइ

प्रकाशित मिति: १२ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल

रसुवा, १२ माघ । अवैधरुपमा सुन भित्रिन थालेपछि उत्तरी नाका रसुवागढीमा नेपाल प्रहरीले जाँच परीक्षण कार्य कडाइ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार जाँच गर्ने उपकरण एक्स–रे मेसिन नभएका कारण हातले खोलेर आँखाले हेरेर भए पनि अवैध कारोबारको चेकजाँचमा कडाइ गरिएको हो ।

यस्तै सोमबार अपराह्न रसुवागढी नाकामा ११७.३२ ग्राम सुनसहित सिन्धुपाल्चोक सिम्पालकाप्रे–६ का चक्रबहादुर धमलालाई पक्राउ गरी कानुनी कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइसकिएको र उक्त सुनको बजार मूल्य करिब रु पाँच लाख ४० हजार रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

फल्स बटन तयारी गरी मोटरसाइकल, सुमोजिप र पैसा राख्ने ब्यागमा समेत सुन फेला पर्न थालेपछि मानिसको शरीर तथा सवारी साधनका विभिन्न पार्टपूर्जामा जाँच परीक्षण कार्यलाई तीब्रता दिइरहेको र अथक प्रयासबाट थोरै परिमाणको सुनसमेत पक्रन नेपाल प्रहरी सफल भएको बताइएको छ ।

अवैध कारोबार रोक्ने सबैको दायित्व भएकाले त्यस्ता अवैध कार्यका सूचना नेपाल प्रहरीलाई उपलब्ध गराई सहयोग गरिदिन सबैसँग आग्रह गर्र्दै सूचना दिनेको नाम अति गोप्य रहने प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट