दाहसंस्कारका कारण पवित्र लक्ष्मणघाट क्षेत्र प्रदुषित

प्रकाशित मिति: ११ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

कपिलवस्तु, ११ माघ । दिनहुँ जसो हुने दाहसंस्कारपछि फोहर व्यवस्थापन नहुँदा कपिलवस्तुको वाणगङ्गा नदीको लक्ष्मणघाट क्षेत्रमा फोहरले वातावरण दुर्गन्धित बन्दै गएको छ ।

जिल्लाको यो शवदहन स्थल लक्ष्मणघाट वाणगङ्गा नदीको वडा नं १२ र त्यसको पारि नगरपालिककै वडा नं ११ मा महत्वपूर्ण धार्मिक लक्ष्मणघाट मन्दिर क्षेत्रमा छ ।

नदी किनारमा शव जलाइसकेपछि त्यसबाट निस्कने फोहर यत्रतत्र छरिदा नजिकै रहेको प्रमुख धार्मिकस्थल लक्ष्मणघाट र नजिकैको बस्तीसमेत प्रदूषित भएको छ ।

यहाँको प्रमुख पवित्र नदीमध्येको एक लक्ष्मणघाट क्षेत्र मानिएकाले उक्त घाटमा कपिलवस्तु रुपन्देही, अर्घाखाँचीलगायतका जिल्लाबाट समेत दाहसंस्कार गर्न ल्याउने हुँदा दैनिक दुई÷तीन वटा शवको दाहसंस्कार हुने गरेको स्थानीयबासी बताउछन् ।

महत्वपूर्ण तीर्थस्थलमा व्यवस्थित शव दहन स्थान नहुदा फोहर बढ्दै गएकाले व्यवस्थापनका लागि नगरपालिकाले ध्यान दिनुपर्ने स्थानीयबासीको माग छ ।

बिगतमा घाटसंगै रहेको मन्दिरमा सोही नदीको जल चढाउने गरिएकामा प्रदुषणले गर्दा जल चढाउने अवस्था नरहेको उनीहरुको भनाई छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट