मर्मत तथा स्तरोन्नति गर्न मनाङ सडक तीन साता बन्द हुने

सडक मर्मत अवधिभर सवारी आवतजावतमा रोक

प्रकाशित मिति: ११ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

बेँसीसह, ११ माघ । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको ताघ्रिङखण्डमा मर्मत तथा स्तरोन्नतिका लागि हिमालपारिको जिल्ला मनाङ जोड्ने एक मात्र सडक तीन साता बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालय दमौलीले जिल्ला प्रशासन कार्यालय लमजुङ र मनाङलाई सडक मर्मत अवधिभर सवारी आवतजावतमा रोक लगाउन पत्राचार गरेको छ ।

यही माघ २५ देखि आगामी फागुन १० गतेसम्मका लागि सवारी आवागमन बन्द गर्न डिभिजन कार्यालयले अनुरोध गरेको छ । ताघ्रिङको काप्रे भिरदेखि श्रीचौर र सिमानामा पर्ने तालडाँडासम्म मर्मत तथा स्तरोन्नति गरिने जिल्ला प्रशासनमा पठाइएको पत्रमा उल्लेख छ ।

सो सडकखण्डमा अति जोखिममा रहेको काप्रेभिरमा पनि मर्मत तथा स्तरोन्नति गरिने डिभिजन कार्यालय, दमौलीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट