नयाँ सदस्यताका लागि विवाद

प्रकाशित मिति: ११ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार
काठमाडौँ, ११ माघ । नयाँ सदस्यताका लागि कुल पाँच सय ५३ को आवेदन परेको र चार सय ४० लाई सिफारिस गरिएकामा त्यसमा गैरपत्रकारको पनि परेको तथा कतिपय कार्यरत पत्रकारको छुटेको भनी उजुरी परेपछि नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखामा विवाद देखिएको छ । विवाद मिलाउन शाखाले आवेदन परेका र सिफारिस भएका सदस्यको कागजात पुनः अध्ययन थालेको छ ।

सोमबार सोही विषयमा केही नयाँ आवेदकले आफ्नो सदस्यता किन सिफारिस भएन भन्दै शाखाको भृकृटीमण्डपस्थित कार्यालयमा आक्रोश व्यक्त गर्दे भनाभन गर्दा पत्रकारिताका केही सङ्गठनले कार्यालय तोडफोडको प्रयास समेत गरेको जनाएका थिए । जिल्ला शाखाहरुको अधिवेशन घोषणा गरिसकेको महासङ्घ केन्द्रले यसै साता देशभरका शाखाका नयाँ सदस्यता र नवीकरणबारे टुङ्गो लगाउँदैछ ।

यसैबीच प्रेस चौतारी नेपाल काठमाडौँका अध्यक्ष लोकेन्द्र केसीले प्रेस विज्ञप्ति जारी गरी कागजात पुगेका र योग्य पत्रकारलाई सदस्यता दिन ढिलाइ गर्न नहुने बताउँदै आफूहरुले कुनै तोडफोडको प्रयास नगरेको जिकिर गरेका छन् ।

शाखाका अध्यक्ष गोविन्द चौलागाईंले प्रक्रिया पु¥याउने नाममा गैरपत्रकार नपरून् र कार्यरत पत्रकार नछुटून् भन्ने ध्येयका साथ काम भइरहेकाले यसमा सबै पक्षबाट सहयोग आवश्यक भएको बताएका छन् । उनले पत्रकारिता पेसालाई मर्यादित र जिम्मेवार बनाउन सबैको भूमिका हुने बताउँदै सदस्यताको विवाद आपसमा बसेर समाधान गर्नेतर्फ आफूहरु लागिपरेको जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट