कर्पोरेट पूँजी र यसको दुष्परिणाम

प्रकाशित मिति: ११ माघ २०७३, मंगलवार

आधुनिक पूँजीवादले लामो यात्रा तया गरिसकेको छ । औद्योगिक पूँजीवादबाट आरम्भ भएको पूँजीवादको यो यात्रा अहिले उदारबाद, नबउदारबाद हुँदै अहिले ‘क्रोनी पूँजीवाद’ अर्थात ‘कर्पोरेट’ पूँजीबादसम्म आइपुगेको छ, जसले आवारा पूँजीको रुपमा एउटा निर्मम, निरंकुश र नितान्त अमानबीय बजारको शक्तिको रुपमा बिश्वलाई आफ्नो मुठ्ठीमा नराम्रोसँग कसिरहेको छ । आजको क्रुरतम सत्य यही हो कि बजारको गतिलाई अब राष्ट्र–राज्यले तय गरिरहेका छैनन् बरु बजारका शक्तिहरुका सामुमा ती राष्ट्र–राज्य या त नतमस्तक छन् या एकदमै असहाय । अझ मजाको कुरा त के छ भने कर्पोरेट बजार अर्थशास्त्रका नियम र सिद्धान्त मुताबिक चल्दै चल्दैन । आजको बिश्व बजारका शक्तिहरु यति प्रबल भइसकेका छन् अनि यति उन्मुक्त र स्वच्छन्द रुपले काम गरिरहेका छन् कि बिश्वका बिभिन्न देशहरु र तिनका सरकारहरु त्यसमाथि अंकुश लगाउन सक्षम छैनन् । इङ्गल्याण्डमा ‘बे्रक्जिट’ र अमेरिकामा ‘ट्रम्प’को बिजयबाट यस्तै प्रकारका नयाँ संकेतहरु मिल्दछन् । हालै जर्मनीमा भएको दक्षिणपन्थीहरुको सम्मेलने पनि त्यस्तै लक्षण र संकेत देखाउँदछ ।

बस्तुतः बितेको साढे दुइ दशकदेखि चल्दै आएको भूमण्डलीकरणबाट जुन लाभ उठाउन सकिन्थ्यो त्यो अमेरिका, बेलायत समेत अन्य बिकसित देशहरुको कर्पोरेट पूँजीले उठाइसकेकोछ । कर्पोरेट पूँजीद्वारा सञ्चालित र नियन्त्रित बिश्व पूँजीवादलाई अगाडि लैजानमा भूमण्डलीकरणको बर्तमान स्वरुपको प्रासांगिकता सन्देहास्पद भइसकेको छ । यस संकटपूर्ण घडीमा यो कर्पोरेट आवारा पूँजी कुनै नयाँ बाटोको खोजमा छ र यस खोजीकै कारणले सम्भवतः बेलायतमा ब्रेग्जिट र अमेरिकामा ट्रम्पको बिजय सम्भव भएको हो जसको आरम्भ भारतमा नरेन्द्र मोदीको २०१४ मा भएको बिजयदेखि भएको मानिदैछ । आखिर ती के कस्ता परिस्थिति हुन् जसले कर्पोरेट पूँजीवादलाई नयाँ बाटो खोज्न र अझ अघि बढ्न प्रेरित गरिरहेका छन् ? हुन त यूरोपमा औद्योगिक पूँजीवादको बिकासको साथसाथै राष्ट्र–राज्यहरुको उदय भएको थियो । औद्योगिक पूँजीवादका लागि आवश्यक बजार, पूँजी तथा बिज्ञान एवं प्रबिधिको बिकासलाई राष्ट–राज्यहरुको संरक्षण तथा प्रोत्साहन मिल्यो ।

सन् १७८२ मा भएको अमेरिकी क्रान्ति र त्यसपछि यूरोपमा भएको फ्रान्सेली क्रान्तिले उच्च र आदर्शबादी लक्ष राखे तापनि यथार्थमा राष्ट्र–राज्यहरु र पूँजीको गठजोडडबाट पश्चिमा देशहरुमा औद्योगिक बिकास ल्याउने काम त्यसले ग¥यो । सन १४९२ मा कोलम्बसको समुद्री यात्राबाट शुरु भएको भूमण्डलीकरणले आज सन् २०१७ लाग्दैगर्दा पूँजीवाद तथा राष्ट्र–राज्यहरुको गठजोडको मद्दतले आफ्नो चरम अबस्था प्राप्त गरिसकेको छ, जसमा राष्ट्र–राज्यहरु अब उसका लागि पहिला जस्तो सहयोगी रहन सकेका छैनन् या यसो भनौ कि तिनले एक किसिमले आफ्नो प्रासांगिकता गुमाउदै गएका छन् । यस कारण यो आवारा बिश्व कर्पोरेट पूँजीवाद यस्ता नयाँ हतियार र संस्थाहरु बिकसित गरिरहेको छ जसले राष्ट्र राज्यको परिधि उसको नियमनको परिधिभन्दा बाहिर होस् । यी मध्येमा सबैभन्दा महत्वपूर्ण शक्तिशाली आजको बजार हो जुन सर्बब्यापी भइसकेको छ । यसको दायरामा पृथ्वीका प्रत्येक बस्तु आइसकेका छन् । जल, जंगल, जमिन, खनिज तथा हावादेखि लिएर मानिसहरुको मेधा–निपुणता, महिलाहरुको कोख, बौद्धिकता, जीब कोशिकाहरु, अन्तरिक्ष कक्षहरु र यस्तै अरु सबै सबै कुरा यसका दायरामा सामेल छन् । यो सर्बब्यापी बजार लगभग सबै किसिमका नियन्त्रणहरुबाट मुक्त छ । यो बजारको गति अब राष्ट्र–राज्यहरुले तय गर्दैनन् त्यसको बिपरीत बजारका शक्तिहरु समक्ष त ती स्वयं असहाय या नतमस्तक छन् । यसले बजारमा समानताको सिद्धान्त चलाउँदैन बरु ‘जसको लाठी उसकै भैंसी’को सिद्धान्त जस्तो जंगली कानुन चल्छ या चलिरहेको छ । बजारका यी शक्तिहरुलाई कहिं कतैबाट कुनै चूनौति मिल्ने सम्भवाना पनि देखिएको छैन । भूमण्डलीकरणले यो बजारको निर्माण गरेको हो तर त्यो अब सबै नियमनभन्दा माथि छ र आफ्नो साम्राज्य स्थापित गरिसकेको छ । राष्ट्र–राज्य अब त्यसको अधिनमा छन्, यसकारण कल्याणकारी राज्य र संस्थाहरुको जनतान्त्रिकरणको कुरा यसले मन पराउँदैन ।

भूमण्डलीकरण गैर प्रासांगिक हुनुको दोश्रो ठूलो कारण हो बिश्व पूजीको अत्यन्त ठूलो संकेन्द्रिकरण । आज बिश्वका केवल ५०० कम्पनीहरुसँग बिश्वको आधा पूँजी रहेको छ । बिश्वका केवल एक प्रतिशत मानिसहरु यस पूँजीको मालिक छन् र तिनकै मर्जी र आवश्यकता अनुरुप यो आवारा पूँजी आउने जाने गर्दछ । यो पूँजीले देश–देशका बीच घृणा फैलाए आफ्नो हतियार उद्योग र हतियार ब्यवसया तथा ड्रग बजारको एउटा ठूलो सञ्जाल बिकसित गरेको छ, जसको केवल एउटै उदेश्य छ मुनाफा र बिश्वको बर्बादी जसको एउटा उदाहरण र परिणाम हामीले इराक, लीबिया, अफगानिस्तान, सीरिया तथा टर्कीमा घटित भएको देखिरहेकाछौ । यसको गुञ्जन यस आवारा पूँजीका अड्डाहरुमा जस्तो अमेरिका, बृटेन, ब्राजिल, फ्रान्स र जर्मनीमा, घटित भएका आतंकबादी हमलाका माध्यमबाट पुग्दा त्यसका कान अबश्य ठाडा भए तर त्यसका जन बिरोधी घिनलाग्दा खेल जस्ताको तस्तै निर्बाध किसिमले चलेको चलेकै छ । यस पूँजीका लागि राष्ट्रहरुको सीमा र तिनको नियमनको कुनै अर्थ छैन । भारतको हालैको नोटबन्दीको खेल पनि यही कर्पोरेट पूँजीको एउटा नाटकीय खेल मात्र हो । हुन पनि यो आवारा पूँजीको कुनै पनि आफ्नो देश हुदैन । पूरा संसार नै उसको घर र खेल मैदान हाण्े । डिजीटल करेन्सीका चलनले वास्तवा यो अबैध पूँजीको लेन–देनको अनियन्त्रित बाटोलाई पक्का तुल्याउँदछ ।

यस पूँजी एकत्र गर्न राज्यको भूमिका महत्वपूर्ण रहेको छ र उपनिवेशहरुको लूटलाई सुगम बनाएको हो । तर यो पूँजी अब प्रौढ भइसकेको छ र यसलाई अब राष्ट्र–राज्यको आवश्यकता पनि छैन । राष्ट्र–राज्यद्वारा यसको सुरक्षाका लागि लडिएका युद्धहरुले देश र समाजहरुलाई बिनष्ट गर्न सक्तछन् जुन कुरालाई हामीले बिश्वभर पैmलिएको आतंकबाद र ड्रग ब्यबसायहरुमा देखिरहेका छौं । यस पूँजीको हमलाको सबैभन्दा खतरनाक पक्षलाई आम जनताले देख्न सक्तैनन् । यस पूँजीको सबैभन्दा घातक र प्रहारकारी हतियार हुन् सञ्चार माध्यमहरु र सूचना प्रबिधि जसले मिनेट भरमा मुद्दाहरु भड्काउने र त्यसको तस्वीर बदल्ने क्षमता राख्दछन् । सञ्चार माध्यम र सूँचना प्रबिधिहरु पनि यही बजारु मूल्यका बिस्तार हुन् र तिनलाई स्थापित तुल्याउँदछन् । यस पूँजीलाई अगाडि बढाउनका लागि ती नयाँ सम्वन्ध बिकसित गर्ने चिन्तामा हुन्छन् जसबाट बिश्व राजनीतिक परिदृष्य बद्लिइरहेको छ । तमाम आन्तरिक बिरोधहरु हुँदाहुदै पनि बिश्वभरीका देशहरुमा उन्मादी राष्ट्रबाद, पारस्परिक घृणाको राजनीतिको बिस्तार भइरहेको छ जुन यही आवारा पूँजीले रोपेको बिषालु बिउको प्रतिफल बाहेक अरु केही होइन ।

यो क्रोनी अर्थात् आवारा पूँजीको बिस्तार र बिकासको एउटा ठूलो कारण हो बिश्व कर्पोरेट ब्यबस्थाको प्रबिधि नियन्त्रण र एकाधिकार । बिज्ञान र प्रबिधिको जस्तो उपयोग बजारको बिस्तार र बिश्वभरीबाट निचोरेर केन्द्रिकृत गरिएको छ, त्यो भूमण्डलीकरणको क्रममा भएको अद्भूत र भयावह कुरा हो । सूचना प्रबिधिले यस आबारा पूँजीको पक्षमा आम राय बनाउन, भोगबादी सँस्कृतिको प्रसार गर्त तथा आम जन साधारणलाई भ्रमित तुल्याउनमा धारिलो हतिायको रुपमा काम गरेको छ । बिज्ञान र प्रबिधि पनि अब राष्ट्र निरपेक्ष छैन र यसको बिकास र बिस्तार पूर्णरुपले बिश्व कर्पोरेट ब्यवस्थाको हातमा रहेको छ । सर्बब्यापी बजारको नियन्त्रण मुक्ति, बिशाल सघन पूँजीको मारकारी उच्छृंखलता र बिज्ञान ताथ प्रबिधिको एकाधिकारी खेलले देश–देशको राजनीतिलाई भ्रष्ट, सिद्धान्तहीन, लक्षहीन, अराजक तथा अर्थतन्त्र र समाजलाई बिखण्डन र पर्यावरणलाई बिध्वंश गरिदिएको छ । बिश्व कर्पोरेट शक्तिहरु यही चाहन्छन् र यो चाहनालाई तिनले कम बेशी मात्रामा सफलिभूत पनि बनाइरहेका छन् । बजार, पूँजी र प्रबिधिको यस खेलमा देशहरु भित्रका सामाजिक तानाबाना, साँस्कृति अस्मिता, मानबीय चेतनाको जसरी बिनाश भइरहेको छ त्यससँग राज्य सत्ताहरु निसहाय जस्तै देखिदै आएका छन् ।

वास्तवमा यो बिश्व कर्पोरेट पूँजीवादको बिजय हो जसले उसलाई अझ अगाडि बढ्ने बाटो खोल्दछ । अनि पहिलाको जस्तै यो नबकिृत पूँजीवादी युगको अगुवाई पनि बेलायत र अमेरिकामा बसेका कर्पोरेट जगतका शीर्ष ब्यक्तिहरुले नै गर्नेछन् । तिनले अनेक चूनौतिहरुको समाना गर्नुूपर्नेछ तर पनि ती निद्र्वन्द्व अगाडि बढ्ने नै अहिलेसम्मको स्थितिले दर्शाइरहेको प्रतीत हुन्छ । आम जन साधारणकै बीच परस्पर र देशहरुका बीच पनि घृणा र बिद्वेष फैलाएर यो आवारा पूँजी निर्बाध आफ्नो राज्य चलाउन प्रबल इच्छाकासाथ बिश्वलाई नष्ट गर्न हात धोएर लागेको छ र पूरा बिश्व समुदाय यतिबेला असहाय जस्तो देखिएको छ । बिश्वभरीमा अहिले यसका बिरुद्ध केवल ल्याटिन अमेरिकी देशहरु मात्र केही चूनौति दिइरहेका देखिन्छन् । अरु कतै केही छैन । तर सँधै यही प्रबृत्ति रहन्छ भन्ने छैन । बिश्वलाई आक्रान्त पार्ने यो कर्पोरेट पूँजीवादका बिरुद्ध जनलहरहरु उठ्नु अनिवार्य द्वन्द्वात्मक नियम नै हो । अबको बिश्व त्यसैतिर जाँदैछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट