तीव्र गतिमा बन्दैछ लिखु खोलाको पुल

प्रकाशित मिति: ९ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

रामेछाप, ९ माघ । पाँच वर्षमा पनि पूरा हुन नसकेको गुम्देल गाविस र सोलुखुम्बुको चौँलाखर्क जोड्ने लिखु खोलाको पुल निर्माण अझै सम्पन्न हुन सकेको छैन ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र सिरुवा लोकप्रियादेवी कन्स्ट्रक्सनबीच विसं २०६९ मा सम्झौता भएको थियो ।

अहिले भने अन्तिम पटकका लागि एक वर्षको म्याद थप भएकाले २०७४ असार मसान्तसम्ममा निर्माण सक्नुपर्ने दबाब भएपछि हाल पुल निर्माण तीव्र गतिमा बढेको भइरहेको छ । अहिले रामेछापतर्फको स्तम्भ र निर्माण सकिएको तथा सोलुखुम्बुतर्फको निर्माणका लागि बेरिङ नआइपुगेकाले निर्माण हुन सकेको छैन । सकेसम्म वैशाखभित्र पुल निर्माण भइसक्ने सिरुवा लोकप्रियदेवी कन्स्ट्रक्सनका प्रोप्राइटर मदन बस्नेतले बताए ।

रामेछाप बाम्तिभण्डार हुँदै राजधानी चल्न सक्ने सडक निर्माणको काम अवरुद्ध तथा राजधानीदेखि यस क्षेत्रबाट सोलुखुम्बुका केही गाविसमा पुग्ने यातायातका साधन कोसीवारि नै थन्किन बाध्य छन् ।

रु तीन करोड ५० लाखको लागतमा समझौता भएको सो ट्रस ब्रिजको निर्माण दुई वर्ष अवरुद्ध भएको थियो । विसं २०७० असार मसान्तसम्ममा निर्माण भइसक्नुपर्ने थियो । अघिल्लो वर्षको चैत सांसद बलबहादुर केसी र डोलिडारका प्राविधिकसहितको उपस्थितिमा सार्वजनिक सुनुवाई गरी ठेकेदारलाई दबाब दिएपछि काम सुरु भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट