प्रारम्भिक साक्षरता र गणितले अभिभावक बने शिक्षक

प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

शायद पत्याउन गाह्रो हुन्छ होला अभिभावक शिक्षक बने भन्दा तर अनुगमनको क्रममा सत्य त्यही देखियो । हाम्रो टोली बुढाखानी पुग्दा बुढाखानी गाबिस वडा नं ३ की अभिभावक दिलमाया लामा ले आफनो छोरीलाई कपडा धुँदै गर्दा कपडाको रङ्, कपडाको प्रकार र संख्याको बारेमा सिकाउँदै थिइन त्यस्तै सोही वडाको अर्की अभिभावक असलीमाया लामाभने खाना पकाउँदै गरेको भेटियो उनी भने आफनो बच्चा पाल्साङलाई पीठोमा ज्यामितीय आकार सिकाउँदै थिइन ।

 

अभिभावक सम्झना लामालाई प्रारम्भिक साक्षरता र गणितको प्रभावकारिताको बारेमा सोध्दा उनले जवाफ दिइन “प्रारम्भिक साक्षरता र गणित सम्बन्धी अभिभावक कक्षा लिनुभन्दा पहिले खेतबारीको काम र दैनिक कामकाजमा बालबालिका निदाएपछि मात्र काममा जाने गरिन्थ्यो, बालबालिकाले दुःख दिएपछि काम गर्न नसकिएजस्तो लाग्थ्यो तर अहिले त बालबालिकासँगै राखेर कामगर्दा चाहिँ फाइदा पुग्दो रहेछ भन्ने जानकारी भयो बालबालिकाको हेरचाह पनि हुने कामगर्दागर्दै भाषा र गणित तथा विज्ञान पनि सिकाउन सकिने रहेछ ।” अनुगमनकै क्रममा भुमेश्वर बालविकास केन्द्र पुग्दा केन्द्रको बालशिक्षा शिक्षा शिक्षक कन्चन वाइबा बालबालिकालाई जगमा पानी भर्दै नापतौल र तुलनाको ज्ञान दिँदै थिइन ।

 

पाठयक्रम अनुसार घडी मुख्य बिषय भएकोले उनीले ५–६ प्रकारका घडीहरु देखाउँदै र चित्रमा भएका घडीहरु देखाउँदै व्यवहारिक अभ्यास गराउँदै थिइन । कक्षा शिक्षणको बारेमा उनी भन्दै थिइन “प्रारम्भिक साक्षरता र गणितको तालिम लिनुभन्दा अगाडि बालबालिकालाई गीत गाउने नचाउने र किताबका अक्षरहरु चिनाउन बढी जोड दिने गरिन्थ्यो जब तालिम प्राप्त गरियो स्थानीय सामग्रीको प्रयोग गरेर बालबालिकालाई नै प्रत्यक्ष सहभागी गराएर सहजरुपमा सिकाउन सकिने रहेछ धेरै सजिलो भएको छ ।” बुढाखानी पुग्दा भौगोलिक रुपमा डाँडापारी जति बिकट छ शैक्षिक रुपमा निकै फड्को मारेको त्यहाँ देखिएका दृश्यहरुले बताउँथ्यो ।

 

अनुगमनको क्रममा हाम्रो टोली बुढाखानी गाबिसको मझुवामा पुग्यौँ । मझुवामा रहेको भुमेश्वर बालविकास केन्द्रका प्र.अ. बिदुर अधिकारी बिव्यस अध्यक्ष कान्छामान लामा र शिक्षक अभिभावक संघका अध्यक्ष टंक हुमागाईं तथा सदस्य शङ्खर हुमागाईँ लगायतको टोलीले अनुगमन टोलीलाई स्वागत गर्नुभयो । अनुगमन टोलीमा जिल्ला शिक्षा कार्यालयका श्रोतव्यक्ति रामकुमार हुमागाईं, लालचन्द्र ढकाल तथा जिल्ला विकास समितिका कार्यक्रम सहसंयोजक राम लामा र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाका तालिम अधिकृत दीपा खर्कवाल, अदिति दाहाल सहित सेभ द चिल्ड्रेनका परियोजना अधिकृत कर्णदरै र नाङ्शाल एशोसिएसन नेपाल सहितको टोली २ दिने अनुगमनको लागि यही मिती २०७३ पौष ५ गते उक्त केन्द्र पुगेको थियो । भुमेश्वर बालविकास केन्द्रको अनुगमन पश्चात बालविकास केन्द्रको तर्फबाट कार्यक्रमको निरन्तरताको लागि आग्रहका  साथ बिदा लिँदै हाम्रो टोली बुढाखानी गाबिस वडा नं. १ मा रहेको बालचेतना बालविकास केन्द्र तर्फ लाग्यो टोलीमा सामाजिक परिचालक दिलकुमारी हुमागाईं थपिनुभयो ।

हामी १ घण्टा तेर्सो र १ घण्टा उकालो यात्रा गर्दै बालचेतना बालविकास केन्द्र पुग्यौँ । जहाँ बालबालिकाहरु खाजाको लागि हात धुँदै थिए । सबैले एउटै किसिमको खाजा कक्षामा ल्याएका रहेछन । अभिभावकले केन्द्रमा आएर बनाएको खाजा तालिका अनुसार घरबाट ल्याएको  जाउलो खाने तयारी गर्दै थिए बालबालिकाहरु । बालशिक्षा शिक्षक सुविना थिङ बालबालिकालाई हातधुन सघाउँदै थिइन् । पानीको लागि पनि नमूना अभ्यास भएको देखियो बालविकास केन्द्रको बाहिर चौरमा प्रति बिद्यार्थी एउटा बोतल लहरै काठमा झुण्डयाइएको रहेछ जसले गर्दा बालबालिकाले सहज रुपमा सरसफाई गर्न सक्नेरहेछन ।

केन्द्रको व्यवस्थापन र कक्षाभित्र ६ वटा सिकाइक्षेत्रमा बालबालिका निर्मित सामग्री र अभिभावक मार्फत बालविकास केन्द्रलाई उपहार दिएका सामग्री व्यवस्थित गरिएको देखियो । बालशिक्षा शिक्षक सुबिनासँग बालबालिकाहरु घरमा आमासँग झुम्मिएजस्तै सहज रुपमा नजीक हुने र बालबालिकाहरु आफनो नाम ठेगाना र आमाबुबाको नाम जिल्लाको नाम गाबिसको नाम पनि सहजै भन्ने र अन्तक्रिया गर्ने गर्दा रहेछन । कक्षाभित्र बिरुवा रोप्ने प्रयोगात्मक अभ्यास पनि गरिएको रहेछ जसले बालबालिकालाई विज्ञानबारे बास्तविक जानकारी गराएकोरहेछ । अनुगमन टोली अभिभावकहरुसँग केही समय अन्तक्र्रिया गर्दै पुनः अभिभावक मार्फत बालबालिकालाई गरिएको सिकाइको जानकारी लिँदै गन्तव्य तर्फ अगाडि बढयो बुढाखानी गाबिसको महादेवटारमा । भोलिपल्ट अनुगमन टोली फोक्सिङटार गाबिस वडा नं ४ को देउरालीमा रहेको सरस्वती बालविकास केन्द्र पुग्यो जहाँ बालविकास केन्द्रको बालशिक्षा शिक्षक बरिता मोक्तान बालबालिकालाई किताब खोल्ने र बन्दगर्ने तरीका सिकाउँदै थिइन साथै बालबालिकालाई कथा भन्दै थिइन बालबालिकाहरु चाख मानेर कथा सुनिरहेकाथिए । उनको अनुभवमा बालबालिकालाई कथा सुनाउँदा र सामग्रीबाट सिकाउँदा सजिलो हुँदोरहेछ । बालबालिकाले आफनो घरमा भएका घटनाहरु सुनाउने गर्दा उनीहरुमा सुनाइबोलाइ सीप बढदो रहेछ । हामीले प्रयोग गर्ने हो भने हाम्रै वरिपरि रहेका सामग्रीहरु शैक्षिक सामग्री हुँदा रहेछन जुन तालिम पश्चात जानकारी हासिल भयो बरिताले भनिन ।

सोही क्रममा बालविकास केन्द्रका व्यवस्थापन समिति अध्यक्ष बिविरेन्द्र राना र केही अभिभावकहरुसँग अन्तक्र्रिया गरियो । स्थानीयका अनुसार प्रारम्भिक साक्षरता र गणितले बालबालिकाहरुमात्र नभइ अभिभावकलाई पनि शिक्षक जसरी सिकाइ गराउन र बालसुलभ व्यवहार गर्न अभिप्रेरित गरेको छ । यसलाई निरन्तरता दिनुपर्छ । स्थानीयसँगको भलाकुसारी पछि अनुगमनको लागि बुढानिलकण्ठ बालविकास केन्द्र बुढाखानीतर्फ लागियो अरुबेलाभन्दा खुशीको कुरा सो दिन पहिलोपटक काभ्रेको कर्णाली भनेर चिनिने बुढाखानी गाबिसको वडा नं. ४ महादेवटारबाटै गाडीमा यात्रा गरियो । करिब १ घण्टाको गाडीको यात्रा पश्चात हामी बुढाखानी गाबिसको वडा नं. २ मा रहेको बुढानिलकण्ठ पुगियो जहाँ भुकम्प पश्चात क्षतिग्रस्त बनेको भवनको सट्टा बालविकास केन्द्रको लागि मात्रै नयाँ अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको थियो । अस्थायी सिकाइ केन्द्रभित्र अभिभावकले उपलब्ध गराएको परम्परागत सामग्री ढयाङ्ग्रो, मादल, ठेकी, चुरा, धागो आदि सामग्री प्रयोग गरेर बालबालिकाहरु अभिनय गर्दै थिए । बालशिक्षा शिक्षक नेहा लामा बालबालिकालाई पाठयक्रम अनुसार सिकाइ क्षेत्रमा अभ्यास गराउँदै थिइन बालविकास केन्द्र सरसर्ती हेर्दा एक झलकमै सबै देख्न सकिने संग्राहलय जस्तो बनाइएको थियो । बालबालिकाहरु हेरेरैपनि सिक्न सकिने गरी सबै सामग्री व्यवस्थित थियो । बालबालिकाहरुको व्यक्तिगत अभिलेख पनि राखिएको थियो ।

व्यक्तिगत अभिलेख अभिभावक शिक्षामा देखाउने सम्बन्धित अभिभावकलाई देखाउने गरिएको छ जसले गर्दा अभिभावकले आफना बालबालिकाको प्रगति थाहा पाउने र बालविकास केन्द्रप्रतिको अभिभावकको संलग्नता बढाउन मद्धत गरेको बालशिक्षा शिक्षक नेहाले बताइन । सोही बालविकास केन्द्रका प्रअ टेक तुम्सिङका अनुसार प्रारम्भिक साक्षरता र गणितले माथिल्ला कक्षाहरुमा अध्यापन गर्न सहज वातावरण तयार गरेको छ । प्रअ र शिक्षकहरुसँग केहीबेर अन्तक्र्रिया भयो अन्तक्र्रियाको क्रममा सेभ द चिल्ड्रेनका परियोजना अधिकृत कर्णदरैले परियोजनामा प्रयोग गरिएको सेभ द चिल्ड्रेनद्धारा निर्मित अभिभावक शिक्षाको प्याकेजले हरेक महिनाको २ पटक हुने अभिभावक शिक्षा मार्फत निरक्षर अभिभावकले पनि घरमै सिकाउन मद्धत गरेको यसलाई प्रयोगमा निरन्तरता दिने जानकारी दिनुभयो साथै अनुगमन टोलीका जिबिस कार्यक्रम सहसंयोजक रामलामाले व्यवस्थापकीय पक्षमा जिबिसको तर्फबाट गर्न सकिने सहयोगमा पहल गर्ने जानकारी दिनुभयो त्यस्तै शिक्षा कार्यालयका श्रोत व्यक्ति रामकुमार हुमागाईं र लालचन्द्र ढकालले परियोजनाको सिकाइ अन्य बालविकास केन्द्रमा अनुशरण गराउन समन्वय गर्ने धारणा राख्नुभयो ।

सोही क्रममा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाका तालिम अधिकृत दीपा खर्कवालले बालबालिकाहरुको सिकाइको जग प्रारम्भिक बालविकास केन्द्र हो किनकि बालबालिकाहरुलाई कक्षा १ मा जानुभन्दा अघि सिक्नुपर्ने सुनाइ बोलाइ, किताब कसरी खोल्ने र बन्द गर्ने किताबको ज्ञान,अक्षरको ज्ञान, छापा र संकेतको ज्ञान, शब्द र ध्वनिको ज्ञान सम्बन्धी प्रशस्त अभ्यास हुनु जरुरी हुन्छ जुन प्रारम्भिक साक्षरता अन्तर्गत बालबालिकाले अभ्यास गर्दछन त्यसैगरी प्रारम्भिक गणित अन्तर्गत संख्यको ज्ञान, क्रम र ढाँचा, नापतौल तुलना, बर्गीकरण र ज्यामितीय आकार सम्बन्धी जानकारी हासिल गर्ने गर्दछन । प्रारम्भिक साक्षरता र गणितले बालबालिकालाई कक्षा १ मा जानको लागि बालबालिकालाई स्वयम अभ्यासमा पोख्त गर्नुको साथै बालविकास केन्द्रमा अभ्यास गरिएका सीपहरुलाई घरमा अभ्यास गर्नको लागि अभिभावक शिक्षा सञ्चालन गरी बालबालिकालाई कसरी सिकाउने भन्ने जानकारी हासिल गरी आफनो दैनिक क्रियाकलाप सँगै आफना बालबालिकालाई सिकाउने गरिन्छ जुन व्यवहारिक पनि रहेको छ । अन्तक्र्रियापछि हाम्रो टोली निर्धारित समय भन्दा केही ढिलो गर अनुगमनमा देखिएका घट्नाहरुको बर्णन गर्दै कार्यालयतर्फ फर्कियौँ ।

 

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट