नेपालको सुगन्धित तेल भारतदेखि अमेरिकासम्म

प्रकाशित मिति: ७ माघ २०७३, शुक्रबार

रोल्पा, ७ माघ । नेपालको रोल्पामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारतदेखि अमेरिकासम्म पुग्ने गरेको छ।

आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रममा यसबारेको जानकारी दिइएको थियो । कार्यक्रम अधिकृत विजय श्रेष्ठले दिएको जानकारी अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाले रोल्पा जिल्लाको मिझिङ गाविसमा करिब अढाइ वर्ष पहिलेदेखि क्यामोमिल, मेन्था, सिट्रोनिला, पामारौजालगायतका सुगन्धित तेलको उत्पादन गर्दै आएको भएपनि दुई वर्षदेखि जडिबुटी प्रसोधन गरी तेल निकाल्न सुरु गरेको हो ।

जिल्लामा उत्पादित तथा प्रसोधित सुगन्धित तेल तथा अन्य जडिबुटी नेपालगन्ज र काठमाडौँका ब्यापारीले खरिद गर्दै आएका छन् भने पछिल्ला दिनमा सिधै भारत, युरोप र अमेरिका निर्यात हुन थालेको श्रेष्ठको भनाइ छ ।

विभिन्न सामुदायिक वनहरु तथा बाँझो जमिनबाट मिझिङ गाविसका किसानहरुले तीतेपाती सङ्कलन गरी सुनाछहरी जडिबुटी प्रसोधन केन्द्रमा प्रसोधन गरी सुगन्धित तेल उत्पादन तथा बजारीकरण गर्दै आएका छन् । हाल टिमुरबाट पनि सुगन्धित तेल निकाल्नका लागि तयारी भइरहेको छ ।

श्रेष्ठका अनुसार जडिबुटी खेती तथा प्रसोधनबाट हालसम्म मिझिङ गाविसका १०७ घरधुरी लाभान्वित भएका छन् ।

मिझिङ–७, छिर्नेमा करिब पाँचलाख मूल्य बराबरको मेसिन राखिएको भएपनि व्यवस्थित हुन नसकेपछि हाल मेसिन सुलिचौर–१ रुइनिबाङमा पुनःस्थापना गरिएको छ । डिस्टिलेसन युनिटबाट जडिबुटी प्रसोधन गरी सुगन्धित तेल निकालिन्छ ।

हाल समूदायको मातहतमा रहेको जडिबुटी प्रसोधन केन्द्रलाई निकट भविष्यमा स्थानीय जडिबुटी व्यापारीद्वारा व्यवस्थापन गर्ने बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट