थिमिमा अपराधिक घटना नियन्त्रण गर्न सिसी क्यामरा जडान

प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार

भक्तपुर, ६ माघ । महानगरीय प्रहरी वृत्त थिमिले चोरी, डकैतीलगायत अपराधिक घटनालाई नियन्त्रण गर्न चोकचोकमा सिसी क्यामरा जडान गर्ने अभियान सुरु गरेको छ । मध्यपुर थिमि नगरपालिकाले अभियानलाई पूर्णता दिनका लागि रु पाँच लाख सहयोग गर्ने भएको छ ।

प्रहरीले केही दिनअघि एक बैंकबाट रकम झिकेर फर्कंदै गर्दा लुटपाट भएपछि चोकचोकमा सिसी क्यामरा अभियान सञ्चालन गरेको हो ।

महानगरीय प्रहरी वृत्त थिमिले माघ महिनाभित्र पहिलो चरणमा १२ र फागुन दोस्रो साता सम्ममा २० वटा सिसी क्यामरा जडान गर्ने भएको छ । बैंक सञ्चालकलाई बोलाएर बैंकको बाहिर अनिवार्य रूपमा सिसी क्यामरा राख्न प्रहरीले निर्देशन दिएपछि बैंकले सिसी क्यामरा जडान गर्न थालेका छन् ।

सिसी क्यामरा जडानका लागि प्रहरी वृत्त थिमिले सहयोग गर्न दातालाई आग्रह गरेको छ । स्थानीय बासिन्दा, दलका प्रतिनिधि र समाजसेवीसँगको बृहत् छलफलपछि सिसी क्यामरा अभियान सुरु गरिएको हो ।

प्रहरीले अरनिको राजमार्ग खण्डअन्तर्गत मनोहरा पुलदेखि हनुमन्ते पुलसम्मको चोकचोकमा र पुरानो बाटोको बहाखा बजारलगायत मानिसको भीडभाड हुने चोकमा क्यामरा जडान गरेर दैनिक निगरानी गरिने भएको छ ।

सिसी क्यामरा जडानसँगै चोरी, डकैती, लुटपाटलगायत अन्य अपराधिक गतिविधिमा कमी आउने र सवारी दुर्घटनाको अवस्थाबारे जानकारी लिने एवम् दुर्घटना गराएर फरार भएका सवारीलाई नियन्त्रणमा लिन सहयोग पुग्ने प्रहरीको दाबी छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट