भिरपहरामा पाइने शिलाजित उत्खनन हुन सकेन

प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

म्याग्दी, ४ । माघ म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित प्राविधिक ज्ञान र उपकरणको अभाव, सम्बन्धित पक्षको बेवास्ताका कारण उत्खनन हुन सकेको छैन ।

म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमङ्गले, मुदी, मुना, ताकम, मराङ, बिमलगायत गाविसका पहरामा शिलाजित पाइन्छ ।सम्बन्धित पक्षका शिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फे ध्यान नपुगेपछि बर्सेनि करोडाँैको नोक्सानी भइरहेको छ । शिलाजित उत्खनन गर्नेतर्फ सम्बन्धित पक्षले चासो नदेखाउँदा स्थानीयवासी निराश भएका छन् ।

शिलाजित कालो र सेतो गरी दुई किसिमका हुन्छन् । नुनिलो र टर्रो स्वाद हुने शिलाजित भिरपहरामा मात्र पाइन्छ । पहराबाट निस्किएको एक प्रकारको रसायन जमेर शिलाजित बन्ने गरेको बताइन्छ । कालो शिलाजितको रस नियमित सेवन गर्नाले धातु, गानोगोला, ग्यास्ट्रिक, नसासम्बन्धी लगायतका रोग निको हुने जनविश्वास छ ।

शिलाजितको नियमित प्रयोग गर्नाले स्वास्थ्यका लागि निकै फाइदा पुग्ने जिल्लाका आयुर्वेदिक चिकित्सकले बताएका छन् । शिलाजित उत्खनन हुनसक्ने हो भने म्याग्दीमा वार्षिक रु १० करोड सम्मको शिलाजित बिक्री हुनसक्ने प्रबल सम्भावना रहेको भए तापनि प्राविधिक ज्ञान र उपकरणको अभावमा यो खेर गइरहेको उद्योगी–व्यापारीको भनाइ रहेको छ ।

बजारमा प्रति दशग्राम शिलाजित रु २५ देखि रु ३० सम्ममा बिक्री हुन्छ । बजारमा माग भएपनि उत्खनन गर्ने आधुनिक सीप र प्रविधिको अभावमा शिलाजित खेर गइरहेको जिविस म्याग्दीले जनाएको छ ।

जिल्ला वन कार्यालय म्याग्दीले जडीबुटीको असन्तुलित व्यापारका कारण लगानीकर्ता यसतर्फ आकर्षित हुन नसकेको  जनाएको छ । वन कार्यालयका अनुसार जिल्लाबाट न्यून मात्रामा मात्र शिलाजित निर्यात हुने गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट