मृत्यु कनेक्सन

प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

मध्यरात

मृत्युले पठाएको टेक्स्ट
यस्तो थियो –
हाई ! कल मी @ 9841304973
अफसोच ! मृत्युले टिपाएको नम्बर भने मृत थियो । सय ६ कोरी खेप प्रयासहरू खेर गए । व्यर्थ भए । एउटा जान–पहिचान स्त्रैण आवाजदेखि कानले दिक्दारी मान्न थालेपछि उप्रान्त घायल मनले मृत नम्बरमा डायाल नगर्ने निधो ग¥यो । अपितु : मैले सोच्न थालेँ–
धेरै अघि मरेर गएका मेरो मित्रले मर्नुभन्दा अघि आफ्नो फेसबुकको उत्तराधिकारी कसलाई बनाएर गएको थियो ? मृत्युपश्चात् उसको आइडीमार्फत बेला–बेला यो तामसिक दुनियाँमा देखापर्नु है ! भनी कसलाई अह्राएर गएको थियो ? अथवा उसले कोरेको अन्तिम ईच्छापत्रमा सम्बोधन गरेको नाम के थियो ? ईच्छापत्रमा के–के कुरा उल्लेख गरेका थिए ? र, त्यो ईच्छापत्रको अन्तमा क–कस्को नाम लेखिएको थियो जुन मृत्युपश्चात् उत्तराधिकारीले केही जरुरी सन्देश पठाउनु पर्नेछ ।
ऊ अर्थात् मृत्यु त यो शहरमा विल्कुल एक्लो जन्तु थियो । एक्लै बस्थ्यो, एक्लै बाच्थ्यो । यसरी एक्लै बस्ने, बाच्ने उपक्रममा बेलाबेला उसलाई बिथोल्न जाने घामड म मात्र त थिए । सिर्फ म । फगत म । म जान्दिन थिएँ, उसलाई म आएको मन पथ्र्यो कि पर्दैन थियो । तपाईंलाई डिस्ट्रब त भा’छैन नि ! तपाईंको एकाग्रतालाई मैले बिथोलेको त छुइनँ नि ? जस्ता वाहियात प्रश्न गरेर औपचारिक भइटोपल्नु थिएन मलाई । यस्ता कृत्य जगतकै खराबमध्येका खराब हो भन्ने लाग्छ मलाई । मेरो विचारमा अनौपचारिक सम्बन्ध स्थापित हुनलाई औपचारिकताको पर्खाल ढलेकै हुनुपर्छ भन्ने छैन । एक्स्युजमी ! म हाकुचा । घर त्यहीँ पर टुकुचा, जस्ता औपचारिकताका शब्दहरू खर्चेर मात्र कहाँ मित्रताको श्री गणेश भएको छ र ?
हामीबीचको सम्बन्ध अनौपचारिक ढर्राबाटै शुरु भएको थियो । सम्बन्ध विल्कुल अनौपचारिक थियो र थियो आत्मीय पनि । आत्मीय मित्रलाई म आत्मसम्मान गर्थेँ । मित्रताको कालखण्डभरी मैले उसको अतित तथा आफन्तिबारे कहिल्यै केही सोधिनँ । उसले पनि केही बताएन । गन्जागोल वर्तमान अनि अनिश्चित भविष्यबारे हामीले कुनै छिटफुट कुराहरूसम्म गरेनौँ । भूत, वर्तमान, भविष्य अनी आफ्ना–परायबारे फजुल गन्थन गर्ने लण्ठाबाट हामी दूर थियौँ । हामी त धेरै जस्तो मौन सम्वाद गरिबस्थ्यौँ ।
ती काल बेला–बेला म काठमाडौंबाट बेपत्ता हुन्थेँ र पाटन पुग्थेँ । च्यासल नजिकैको भिन्दुलाछी टोल । एउटा साघुरो गल्ली । गल्लीभित्र अवस्थित एक प्रागऐतिहासिक घर । अली होचो काठको दलिन । निहुरिएर भित्र छिर्नसाथ बायाँपट्टिको भ¥याङ चढेर दोस्रो तल्लाको आरोहण गरेपछि उसको कुटी पुगिन्थ्यो । हो, त्यही कुटिमा ऊ जिवित छदा म उसलाई भेट्ने गर्थेँ । ऊ अक्सर कुनै पनि किताब पढिरहेको भेटिन्थ्यो ।
प्राथमिक दिनहरूमा म त्यहाँ पुग्दा उसले पढ्ने किताबहरूबारे विल्कुल हेक्का छैन । तर, विस्तारै बुझ्न थालेँ । उसको कुटिमा व्यावस्थित बुकसेल्फ त थिएन तर यत्रतत्र, सर्वत्र किताबका चाङ हुन्थे । ती किताबहरू सयौँ, हज्जारौँका संख्यामा थिए । ऊ सुत्ने खाटमुनी किताबका खात हुन्थे । ईतिहास, भूगोल, कला, साहित्य, दर्शनशास्त्र, भौतिक विज्ञान, जिवविज्ञान, ज्योतिसशास्त्र, कोकशास्त्र, वास्तुकला सबैथरिका किताबहरू । ती सबै विषयका किताबहरू ऊ सुरुचिपूर्वक पढ्थ्यो । ऊ एक ‘भोरासियस रिडर’ थियो । यस्तो लाग्थ्यो, ऊ किताब पढ्नकै निम्ति जन्मिएको हो अथवा ईश्वर उसलाई यो तनाबी दुनियाँमा फेलापर्ने सबै किताबहरू पढेर आउनु भनी पठाएका थिए ? ऊ ईश्वरद्वारा श्रापित थियो ? जसले घाम कहिले नदेखिने एउटा अध्यारो कोठामा बसेर आफ्नो आयुभरी अनेकन स्वादका किताबअहरू पढ्नु पर्नेछ । र, यो मायावी जगतबाट चोला उठेपछि ऊ ईश्वरको अदालतमा उभिनुपर्नेछ । ईश्वरको अदालतसामु उभेर उसले किताबमा भेटिएका दिव्य ज्ञानबारे लामो सम्भाषण दिनुपर्नेछ ।

मसँग बौद्धिक बहस गर्ने क्षमता बन्दै थिएन तर खुल्दुली लाग्थ्यो ।

‘तपाईं यति धेरै पुस्तक किन, केका निम्ति पढ्नु हुन्छ ?’ सोध्न मन लागेको थियो तर भनेँ, ‘किताब पढ्नुको प्रायोजन व्यक्तिपिच्छे फरक–फरक हुन्छ भनिन्छ । व्यक्तिका छनौट हुन्छन्, रुचिका विषयहरू हुन्छन् तर तपाईं सबैखाले किताबहरू उत्तिकै रुचिकासाथ पढेको देख्छु । यति धेरै किताबहरू तपाईं…’ अचानक उसले मतिर पुलुक्क हेरेपछि मैले आफ्नो जिज्ञासालाई त्यहीनेर रोकेँ । लाग्यो, उसले मेरो आसयलाई बुझिसकेको छ ।

उसले भन्यो– ‘म किताब पढ्नुको निम्ति पढ्छु ।’

‘पढ्नको निम्ति ?’ मैले सोधेँ ।

‘हो, मेरो मित्र म पढ्नकै निम्ति किताब पढ्ने गर्छु । किताब पढ्नु भनेको केही कुरा जान्नु हो । केही जान्नु भनेको ज्ञान प्राप्त गर्नु हो र ज्ञान प्राप्त गर्नु भनेको आत्मको ईश्वरलाई खुशी बनाउनु हो । म मेरो आत्मको ईश्वरलाई सदा खुशी राख्न चाहन्छु ।’

‘त्यसो भए तपाईंको ईश्वर खुशी होला होइन ?’

‘खुशी राख्ने चेष्टा हो । यी हेनुस् न मैले मेरो ईश्वरलाई खुशी राख्नैको निम्ति त अहिले पनि तपाईंसँग कुरा नगरी किताब नै पढिरहेको छु ।’

उसको हातमा नित्सेको ‘दस स्पक जारथ्रुस्त्र’ थियो ।

मैले सोधेँ– ‘तर नित्सेले त ईश्वरलाई मृत घोषणा गरेका थिए हैन र ?’

उसले जाराथ्रुस्त्रलाई भूइँमा रख्दै भन्यो– ‘हो, हो नित्सेले ईश्वरलाई मृत घोषणा गरेकै हो । ईश्वरको अस्तित्वलाई नित्सेले एक हिसाबले निगेट गरेकै हो । तर, स्पिरिच्युअल्ली हैन । बौद्धिक डिस्कोर्सका लागि नित्सेले त्यसो भनेको हुनसक्छ । कथित ईश्वरको नाममा पापिस्टहरूले एकपछि अर्को पाप गर्दै गैरहेको अवस्थामा ईश्वरको नाममा हुने पापहरूबाट मानिसलाई बचाउन नित्सेले त्यसो भनेको हुनुपर्छ । तपाईंलाई थाहै छ, संसारमा ठूला–ठूला धार्मिक युद्धहरू ईश्वरकै नाममा त भएका छन् । तर, असली ईश्वर त नित्सेभित्रै पनि थियो नि हैन र ? ईश्वर भन्नु नै व्यक्तिको विचार हो, आत्मा हो । अब तपाईं नै भन्नुस्, आत्मलाई कसैले मार्न सक्छ ? अथवा मृत घोषणा गर्नसक्छु ?’

म उसको प्रतिप्रश्नले सन्न भए । हो त, ईश्वर भन्नु नै मान्छेको आत्म हो । असल आत्ममा ईश्वरको बास हुन्छ ।

जनवरीको शुरुवाती कुनै एउटा दिन थियो त्यो । पाटनको गल्लीमा हिउँदे झरी निरन्तर झरिरहेको थियो । वातावरणमा चिसोको आर्द्रता ज्यादा थियो । जाडोले म कापिरहेको थिए कि ?

‘उसो भए तपाईंको आत्मलाई न्यानो बनाउन आज म तपाईंलाई कतै लैजान्छु । हिँड्नुस् !’

ऊ मसँग कतै (कता?) जान राजी भयो ।

होनचामा त्यो साँझ हामी दुईलाई थन्काउने ठाउँ पाइएन । चलनचल्तिको भाषामा भन्नुपर्दा त्यो दिन मौसमले च्यालेन्ज दिएको थियो । र, मौसमसँग भिड्न युवा, वृद्ध, स्त्री, पुरुष कायाहरूको अत्यधिक भीड होनचामा देखिएको थियो । हामी माथिल्लो ओपन टेरेसमा उक्ल्यौँ । कर्नरमा टागिएको तम्मुमुनी छ थाना जड्याहाहरू अयला पिउँदै हल्ला गरिरहेका थिए । ओपन आकाशमुनी भने कोही थिएन । भनिहाले झरी अझै झरिरहेकै थियो ।

हामी ‘क्वाछे’ मा देखाप¥यौँ । माथिल्लो तलाको पलेटी खाली रहेछ । बस्यौँ । नेवारी अयलामा म कहिलेदेखि अल्झन थालएको थिएँ यकिन तिथिमिति थाहा छैन । मेरो फरमाइसका पेय पदार्थ तथा नेवारी पारिकारहरूमा उसले कुनै नाइनास्ती गरेन । हामीकुरा काम ज्यादा पिउँदै धेरैबेरसम्म त्यहाँ बस्यौँ । साहुजी बौचाले दोकान बन्द गर्नुपर्ने समयको जनाउ दिएपछि हामी त्यहाँबाट बाहिरियौँ । ऊ भिन्दुलाछीतर्फ लाग्यो । म वालुवाटारतिर । टुकुचा नजिकै एउटा कोठा लिएर केहीकाल देखि म एक्लै बस्दै आइरहेको थिएँ ।

बिहान ब्युझदा मलाई अयलाको ह्याङ बन्दै थिएन तर ऊसँगको ह्याङओभरले भने धेरै दिनसम्म पछ्याइरह्यो । सकुमिजा सेवान गर्दै उसले भनेको थियो– ‘काठमाडौं खाल्डाको नेवारहरू खाद्य–संस्कृतिमा पारंगत छन् । यी नेवारी परिकारले भोजन संस्कृतिमा सुस्वादु (डेलिकेसी ) को तह चुमेको हुनुपर्छ । यद्यपि, हामी यी परिकारलाई भोजनमध्येकै सबैभन्दा स्वादिष्ट भन्न सक्त्तैनौँ किनकी स्वादलाई निरपेक्षरूपमा परिभासित गर्न मिल्दैन । हरेक व्यक्तिका स्वाद व्यक्तिपिच्छे फरक–फरक हुने गर्छ । कसैलाई के मन पर्छ, कसैलाई के । तर, खास कुरा चाहिँ के हो भने कुनै पनि जाती, धर्म, संस्कृति तथा संस्कारको नाममा खानेकुरालाई हेला–होचो, छुवाछुत तथा छिः छि दूरदूर गर्नु हुँदैन । ‘हेर्नुस् न ! म उपाध्याय बाहुनको छोरा । हाम्रो संस्कारमा मांसहार नै बर्जित छ । भैँसी भक्षण गर्ने कुरा त झन् धेरै टाढाको । तर, आफू शाकाहारी भैरहन सकिनँ । मांसहार गर्न थालेँ । नखानु खाइसकेपछि के भैँसी, के राँगा, के खसी, के बंगुर, के कुखुरा, सबै उस्तै त हुन् । सबै प्राणी त हुन् । एक हिसाबले भन्दा मैले कथित संस्कार र संस्कृतिलाई भात्काइदिएँ । कि कसो पासा !’

‘विल्कुल सहि हो पासा’, मैले भनेँ ।

नेवारी वासाले हामीलाई पासा पासामा ओरालेको त्यो एक अदभूत साँझ थियो ।

उपाध्याय पासाले अर्को सकुमिजा चपाउँदै भनेको थियो– ‘यो सकुमिजाकै कुरा गरौन ! हड्डिभित्रको बोनम्यारो (मासी)लाई खोतलखातल पारी भैँसीकै पाकस्थली पोकोपारी

बनाइेको यो चिज गज्जबको छैन त ?’

‘गज्जब्को छ त !’, मैले भनेँ ।

उसले थप्यो– ‘काठमाडौं घुम्न आएकी एक बंगाली केटीले सकुमिजा चाखेर एउटा अंग्रेजी पत्रिकामा यसको बारेमा लेखेको एउटा सानो लेख तपाईंले नि पढ्नु भयो होला ।’

‘पढेँ । त्यो शायद टियचटीको टपिक्समा थियो कि ?’

‘हो, तपाईंले नि पढ्नु भएछ । मेरो भन्नुको मतलब के हो भने हाम्रो परिकार चाखेर बिदेशीले मुक्त्तकण्ठले प्रसंशा गर्छन् भने हामी चाहिँ किन पर हुने ?’

अन्तिम पिस सकुमिजा मैले टिपेँ । नेवारी खाजागृहमा नेवारी खानाबारे उसले दिएको एउटा सानो प्रवचन ? बंगाली केटीसम्म पुगेर टुंगिएको थियो ।

हामीले, हैन हैन उसले कुनै अप्रासांगिक कुरा त गरेको थिएन ?

प्रिय पाठक !

हामी नेवारीगृहमा नै त थियौँ नि होइन र ? नेवारीगृहमा बसेर नेवारी परिकारको विषयमा वा बारेमा चर्चा–परीचर्चा गर्नु पक्कै पनि अप्रासांगिक हुँदैन । थिएन । बरु हामीले सुनेका, देखेका, भोगेका छौँ ठाउँ कुठाउँ मान्छेहरू अप्रासांगिक प्रसंगहरू निकाल्ने गर्छन् । होनचामा बसेर बारा चपाउँदै हङकङका बारहरू मिस गर्छन् र भन्छन्– ‘एउटा जाबो मुत्रालय पनि छैन यहाँ । यस्तो ठाउँमा किन आउनु ?’ तिनै भद्रजन अर्कोदिन फेरि त्यही फेला पर्छन् । त्यस्तै कोही क्वाछेमा अयला पिउँदै क्वालालम्पुरको बुकित बिन्ताङमा बिताएका रंगिन साँझहरूतिर बरालिन्छन् । अन्तमा अयलाको बिल बाँकी राखेर पाटनको गल्लितिर कतै भूमिगत हुन्छन् । कस्तो वाहियात ! यस्ता वाहियात वात गर्नेहरू सर्वसाधारण मात्र हुँदैनन् समाजका प्रतिष्ठित व्यक्ति भनौदाहरू नि यस मामालामा चुक्ने गर्छन् । तपाईंलाई याद छ ? भर्खर एउटा खेलको उद्घाटन गर्न पुगेका मानानीयज्यूले के भने ? खेलकुदको उद्घाटन गर्न पुगेको नाताले उनले खेलकुद्को विषयमा कुरा गर्नुपर्ने हो तर तिनले त सरकारको पक्षमा भाषाण ठोके । राजतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता राजनीतिजन्य विषयहरूमा मात्र बरालिए तर खेलकुदको विषयमा एक शब्द खर्च गरेनन् । अब ती तमाम खेलाडी तथा खेलप्रेमी शुभेच्छुकहरूले तिनीबाट के आशा राख्ने ? मलाई ती मनानीय देखेर दया लागेर आयो र आफैँदेखि पनि । म नि त्यही देशको एक आम नागरिक त थिएँ ।

म बेरोजगार थिएँ । केहीकालदेखि एउटा जापानिज रेस्टुरेन्टमा गर्दै आएको काम मैले छाडेको थिएँ । ग्राहकको सेवा सत्कारमा खटिने कर्मचारीले बस्न नपाईने जापानिजहरूको संस्कार हुँदोरहेछ । पाहुनाको अगाडिबस्दा पाहुनाको अपमान गरेको ठहरिने उनीहरूको बुझाई । त्यसैले काउण्टरमा मेच राख्ने चलन नै नहुँदो रहेछ । मलाई नसासम्बन्धी समस्या थियो । धेरै लामो समयसम्म उभिनु पर्दा थप समस्या पैदा हुन्थ्यो । मैले मेरो जापानिज साहु जो देखावटीरूपमा रेस्टुरेन्ट व्यावसाय सन्चालन गथ्र्यो भित्रभित्र भने म्यारिज ब्युरोको नाममा ‘ह्युमन ट्राफिकिङ’ को धन्दा चलाउने गथ्र्यो, लाई काम छाड्ने कुरा गरेँ र अर्को दिन त्यहाँबाट बिदा भए । त्यसपछि मेरा बेरोजगारी दिनहरू शुरु भए ।

‘खाली दिमाग सैतान कि घर’ भन्ने कहावत् तपाईंले अवश्य सुनेको हुनुपर्छ । काम नभएपछि दिमागमा नानाभाती कुराहरू खेल्थ्यो । उपाध्याय पासाको संगतले म साहित्यको नवपाठकसम्म भएको थिएँ । तर, आफ्नो गएगुज्रेको अर्थतन्त्रको कारण मैले पठन संस्कृतिलाई निरन्तरता दिन सक्ने अवस्था औँ आफूलाई मनपरेका पुस्तकहरू किन्न सक्ने अवस्था थिएन । यस्तो अवस्थामा एउटा बेरोजगार व्यक्तिले उसका फुर्सदिला समयहरूलाई कसरी अर्थपूर्ण बनाउन सक्ला ? निश्चितरूपमा ती दिनहरू मेरा लागि कष्टप्रद थिए । मैले पासालाई सम्झेँ जहाँ फुर्सदको या मित्रताको ? नाजायज फाइदा उठाउन सकिन्थ्यो । भनिहालेँ उसको कुटिमा अनेकन स्वादका किताबहरू थिए जुन पढेर केही समय व्यतित गर्न सक्थेँ म । त्यसैताका मैले एउटा साहित्यिक जर्नलमा एक उदेकलाग्दो कथा पढेको थिए– निकास ।

प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित हुने समकालिन साहित्यको कतिऔँ अंकमा छापिएको उक्त कथाको लेखक थिए, कुमार नगरकोटी । पढेर म रन्थनिएँ । नेपाली साहित्यमा यस्तो सुरुचिपूर्वक पढ्न सकिने कथाहरू पनि लेखिन्दो रहेछ । लेखिएका रहेछन् । त्यसै अंकमा रोशन थापा ‘निरव’को ‘इन्डिगो ग्यालरीमा एक साँझ’ कथा पढेर पनि म आनन्दित भएँ । तर, निकासले मलाई धेरै कालसम्म लखेटिरह्यो । कथाकारले एउटी प्रसव वेदनाले छट्पट्याइरहेकी महिलाई एउटा बाथको बुढो बिरामीको अगाडि अलपत्र छाडेर ऊ त्यहाँबाट बाहिरिन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट