अझैपनि खराउकै भरमा चौधरी

हर्नियाको उपचार खराउ

प्रकाशित मिति: २ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

मोरङ, २ माघ । मोरङको बेलबारी–११ का लीलाप्रसाद चौधरी ४३ वर्षदेखि खराउको प्रयोग गर्दै आएका छन् ।

६६ वर्षीय चौधरीका बाहुनीको जनता उच्च माविमा ३२ वर्ष लेखापालको जागिर गरेर उनलाई पैसाको कुनै अभाव छैन, तर पनि उनको खुट्टामा खराउ देख्दा जो कोही एक छिन टक्क उभिएर हेर्ने गर्छन् ।

उनको खुट्टामा खराउ परेको ४३ वर्ष भयो । किन खराउ लगाउनुभयो रु भन्ने जिज्ञासामा उनले भने – ‘२२ वर्षको उमेरमा दाहिनेपट्टि हर्निया निस्कियो । २०३० सालमा नेपालमा उपचार गर्न सम्भव नै थिएन । भारतसम्म पुग्ने आर्थिक हैषियत भएन । त्यसैबेला एकजना साधुले उनलाई खराउ लगाउन सुझाव दिए । उति बेला खाली खुट्टा नै हिँड्ने समय थियो ।’

साधुले भनेअनुसार उनले गाउँको सिकर्मीलाई खराउ बनाउन लगाए । सिमलको रुखको काठ खोपेर खुट्टाको बूढी र माइली औँलाले च्याप्ने गरी टुसो निकालेर खराउ बनाउन लगाए । सुरुमा अप्ठ्यारो भयो । तर, हर्नियाका बिरामी उनलाई हर्नियाबाट मुक्त हुनु थियो । त्यसैले उनले दैनिक औँलाको बीचबाट रगत चुहाउँदै पनि १९ महिना खराउ लगाए । १९ महिनामा हर्निया आफैँ हरायो । त्यसयता उनलाई हर्नियाले दुःख दिएको छैन । उनी भन्छन् – ‘मलाई खराउ सञ्जीवनी बुटी जस्तै भयो ।’ उनले खराउ लगाउन छोडेका छैनन ।

युग जतिसुकै आधुनिक भए पनि पूर्वीय शास्त्रमा सबै रोगको उपचार गर्ने पद्दति भएको उनको भनाइ छ । उनी भन्छन् – ‘अहिले खराउ बनाइदिने सिकर्मी पाइँदैनन्, त्यसैले आफैँ बनाएर लगाउँछु । अब त उनको नाम नै खराउ सर भइसकेको छ । सबैले लीलाभन्दा पनि खराउ सर भनेर चिन्छन् ।’ उनले थपे – ‘जे भने पनि म सन्तुष्ट छु, त्रेता युगको चप्पल अझै जोगाएको छु । मेरो फाइदाका लागि हो ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट