गुफामा चिया खेती गर्न नगरपालिकाको चासो

प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

मेलम्ची, २९ पुस । नगरपालिका र राजनीतिक दलले मेलम्ची नगरपालिकाको उच्च पहाडी क्षेत्र गुफामा चिया खेती गर्न चासो देखाएका छन् ।

नगरपालिकाले अवधारणापत्र प्रस्तुत गर्दै मेलम्ची नगरपालिका–१४ गुफामा चिया बगान सम्बन्धमा सोही क्षेत्रको प्रत्यक्ष अवलोकन गरी स्थानीय राजनीतिक दलबीच छलफल आयोजनासमेत गरिएको छ ।

गुफामा चियाबगानको सम्भावना रहेकाले यसमा स्थानीयवासीकोे साथ भएमा नगरभित्रका राजनीतिक दलले आ–आफ्नो पार्टीका तर्फबाट सहयोग गर्न तयार रहेको बताएका थिए । निकै मनमोहक तथा पर्यटकीय क्षेत्र हुने प्रचुर सम्भावना रहेको उक्त ठाउँमा चिया खेतीका लागि स्थानीयवासी पनि अग्रसर भएका छन् ।

चियाबगानले गाउँको मुहार फेरिने भएकाले चियाबगानका लागि नगरपालिकाले चासो दिनु सकारात्मक भएको र नगरपालिका साथसाथै स्थानीयवासी पनि निर्माण कार्यमा जुटेको स्थानीयवासी बाघवीर तामाङले बताए ।

चियाबगानले पर्यटकीय क्षेत्रको रुपमा समेत विकास हुने भएकाले स्थानीयवासी सहयोग गर्न तत्पर रहेको र एक दिन जिल्लाको भोटेचौरमा रहेको प्रख्यात एभरेस्ट चिया बगान जस्तै चिनाउन सकिने गुफाका स्थानीयवासीले बताएका छन् ।

सानो इलामका रुपमा रहेको भोटेचौरमा चियाबगान हेर्न आउने पर्यटकलाई गुफाको बगानमा पनि आकर्षित गर्न सकिने प्रचुर सम्भावना रहेकाले नेपाली काँग्रेसका नगर सभापति मधुसूदन सिग्देलले सबैलाई सहयोगका लागि आग्रह गरे ।

त्यस्तै, नगरपालिकाका कार्यकारी प्रमुख पूर्णप्रसाद दुलालले प्राविधिकले गुफा क्षेत्रमा चिया र अन्य फलफूलको उत्पादन हुनसक्ने बताएको र अब गुफाको विकास र पर्यटनका लागि सरकार र स्थानीयवासी लाग्नुपर्ने जानकारी दिए ।

उनले मेलम्चीको गोल्माथान र गुफाका लागि आगामी आर्थिक वर्षमा रु छ लाख छुट्याउने बताए । चिया खेतीका लागि अवलोकन गरिएको वन सरकारी भएकाले यसलाई मिलाउन पनि नगरपालिका चाँडै लाग्ने दुलालले बाताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट