सिमेन्ट उद्योगलाई व्यवस्थित गर्न उद्योगीबीच सहमति

प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

बिर्तामोड, २८ पुस । ६ महिनाभित्र झापा दुहागढीमा सञ्चालित दुईवटा सिमेन्ट उद्योगलाई व्यवस्थित गर्न सम्बन्धित उद्योगीले प्रतिबद्धता जाहेर गरेका छन् । नव सिर्जनशील युवा समाज दुहागढीले उत्पन्न विवाद मिलाउन बुधबार आयोजना गरेको छलफलमा उद्योगीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

दुहागढी–१ मा हिमालयज सिमेन्ट उद्योग र दुहागढी–३ मा गोरखकाली सिमेन्ट उद्योग व्यवस्थित नहुँदा त्यहाँबाट निस्किएको धुवाँ, धुलो र ध्वनिले आक्रान्त बनेका स्थानीयवासी आन्दोलित भएपछि युवा समाजको समन्वयमा उद्योगी र स्थानीयवासीबीच छलफल भएको हो ।

छलफलमा स्थानीयवासीले उठाएका १४ बुँदे सवालमा उद्योगीले धुवाँ, धुलो र ध्वनिलाई पूर्णरुपमा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यस क्रममा उद्योगीले उद्योग व्यवस्थापन गर्न ६ महिनाको समय मागेका छन् ।

छलफलमा गोरखकाली सिमेन्ट उद्योगका सञ्चालक दीपेश ढकाल, तीर्थ ढकाल, हिमालयज सिमेन्ट उद्योगका सञ्चालक उमेश डालमियाले उठेका सवालको जवाफसहित उत्पन्न समस्यालाई पूर्णरुपले समाधान गर्ने बताए ।

उद्योग व्यवस्थापन भए÷नभएको अनुगमनका लागि बद्री महतको संयोजकत्वमा ११ सदस्यीय अनुगमन समितिसमेत गठन गरिएको छ ।

छलफलमा उद्योग सङ्घ झापाका अध्यक्ष टीका ढकालले स्थानीयवासी र उद्योग बीचको सम्बन्ध प्रगाढ भए मात्रै दुवै तर्फको समस्या समाधान हुने बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट