प्यूठानका १६ ठाउँमा फोटोसहितको मतदाता नामावली सङ्कलन

प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

प्यूठान, २८ पुस । फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य प्यूठान जिल्लाका १६ ठाउँमा सम्पन्न भएको छ । यो अभियान उत्तरी प्यूठानका रजवारा, अर्खा, डामृ, स्याउलिवाङ क्षेत्रमासम्पन्न भएको हो ।

त्यस्तै कोचिवाङ, स्वर्गद्वारी, भिंगृसहित धुवाङ, पकला र बरौैँलामा पनि नामावली सङ्कलन तथा अद्यावधिक कार्य सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ ।

त्यस्तै प्यूठान नगरपालिका वडा नं १ देखि ६ सम्ममा पनि अभियान सम्पन्न भएको छ । हालसम्म सम्पन्न भएका क्षेत्रबाट नयाँ ३५७ जना मतदाता थपिएको निर्वाचन अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

जिल्लाका ४२ गाविस तथा एक नगरपालिकाका सम्पूर्ण वडामा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अध्यावधिक गर्ने गरी पुस १७ गतेदेखि सुरु भएको सङ्कलन अभियान माघ ९ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । जिल्लामा हालसम्म मताधिकार भएका नागरिकको सङ्ख्या एक लाख २८ हजार १०८ जना पुगेको छ ।

विसं २०६७ देखि सुरु भएको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा अहिलेसम्ममा ६७ हजार, ४९० जना महिला, ६० हजार ६१७ जना पुरुष र एक समलिङ्गीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

नेपालको संविधान र निर्वाचन आयोगले पनि अहिले स्थानीय तथा प्रदेश तहसहित राष्ट्रिय सभाको निर्वाचन परिकल्पना गरेकाले निर्वाचनमा नामावली समावेश गर्नका लागि स्थानीयवासीको सक्रियता देखिएको प्रमुख भण्डारीले बताए ।

जिल्लामा रोजगारीको सिलसिलामा विदेशिएका युवा धेरै भएकै कारण जिल्लामा पुरुषको भन्दा महिलाको सङ्ख्या मतदाता नामावलीमा धेरै भएको निर्वाचन कार्यालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट