ग्रामीण क्षेत्रमा सौर्य ऊर्जाको प्रयोग बढ्दैं

प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

कञ्चनपुर, २८ पुस । कञ्चनपुरका ग्रामीण क्षेत्रका बासिन्दा बढ्दो विद्युत्भार कटौतीका कारण विद्युतीय ऊर्जाको विकल्पका रुपमा सौर्य ऊर्जाको प्रयोग गर्न थालेका छन् ।

ग्रामीण क्षेत्रमा घरायसी प्रयोजनका लागि सौर्य ऊर्जाको माग बढ्दो रुपमा रहेको छ । सौर्य ऊर्जाको यहाँका बासिन्दाले पानी तताउने, कम्प्युटर चलाउन, टेलिभिजन, पङ्खा र बत्ती बाल्नका लागि प्रयोग गर्दै आएका छन् ।

विद्युत् नपुगेको क्षेत्रमा सौर्य ऊर्जा प्रणाली प्रभावकारी भएको शङ्करपुरका रामप्रसाद रानाले उल्लेख गरे । बाढीले विस्थापनमा पारेपछि उनीले लालझाडी वन छेउ विद्युत्को विकल्पका रुपमा चार वर्षदेखि सौर्य ऊर्जा प्रणाली जडान गरेर विद्युत्को आपूर्ति गर्दै आएका बताए । विद्युत् नपुगे पनि विकल्पका रुपमा सौर्य ऊर्जाको प्रयोग गर्दै आएको उनले बताए ।

घरेलु सौर्य विद्युत् प्रणालीमा सरकारले रु चार हजारदेखि रु १० हजारसम्म अनुदान दिने भएकाले यसप्रति ग्रामीण क्षेत्रका बासिन्दा बढी आकर्षित भएको नौखरीका खडक चौधरीले बताए ।

‘एकल महिला, पिछडिएका वर्ग, विपत्ती पीडित, गरिब, द्वन्द्वबाट प्रभावित तथा सरकारले पहिचान गरेका लोपोन्मुख जनजातिको हकमा प्रति लक्षित घरधुरीलाई थप अनुदान रकमसमेत उपलब्ध गराउने सरकारी व्यवस्थाले सघाउ पु¥याएको छ’ – उनले भने ।

रु १० हजारदेखि रु ५० हजारसम्ममा सौर्य ऊर्जा विद्युतीय प्रणाली जडान गर्न सकिने र विद्युत्भार कटौतीको विकल्पका रुपमासमेत सर्वसाधारणले यस प्रणालीको उपभोग गर्दै आएका छन् ।

सौर्य ऊर्जाको क्षेत्रमा कार्य गर्दै आएका कम्पनीका अनुसार मासिक रुपमा छदेखि १० वटासम्म सौर्य ऊर्जा प्रणालीको कञ्चनपुरमा खपत हुने गरेको छ ।

बढ्दो विद्युत्भार कटौतीले सौर्य ऊर्जाको महत्व बढाएको उल्लेख गर्दै जिल्ला विकास समितिको ऊर्जा तथा वातावरण एकाइ कार्यालय कञ्चनपुरका प्रमुख दिनेश लम्सालले इन्भर्टर र जेनेरेटरको खर्च धान्न नसक्ने सर्वसाधारणका लागि सौर्य ऊर्जा उपयोगी सावित भएको बताए ।

विसं २०६५ देखि ऊर्जा तथा वातावरण एकाइको यहाँ स्थापनापछि सौर्य ऊर्जाको खपत बढेको हो । कञ्चनपुरमा २०६५ सालदेखि हालसम्म सौर्य ऊर्जाको प्रयोग गर्नेको सङ्ख्या एक हजार ६९ पुगेको छ ।

ऊर्जा तथा वातावरण एकाइको तथ्याङ्कअनुसार बेलडाँडी नगरपालिकामा २७९, बेलौरी नगरपालिकामा १८६, देखतभूलीमा ९१, दोधारा नगरपालिकामा १३३, शङ्करपुरमा ७८, रौतेली विचवा र बाइसे विचवामा ५२-५२ वटा, झलारीपिपलाडी नगरपालिकामा ६०, कृष्णपुर नगरपालिकामा ४८, बेदकोट नगरपालिकामा ६२ घरमा सौर्य ऊर्जा प्रणाली जडान गरिएको छ ।

यसैगरी, पुनर्वास नगरपालिकामा १०, रैकवार विचवाका ३० घरमा सौर्य ऊर्जा जडान गरिएको छ । सरकारले विद्युत् नभएको बेला पनि सहर क्षेत्रलाई उज्यालो राख्नका लागि अनुदानमा सौर्य सडक बत्ती जडान गर्ने योजना ल्याएपछि नगरपालिकाले कार्यक्रमलाई अगाडि सारेका छन् । पुनर्वास नगरपालिकाले नगरका १० बढी ठाउमा सौर्य बत्ती जडान गरेको छ ।

सत्तरी प्रतिशत सरकारले २० प्रतिशत सम्बन्धित नगरपालिकाले र १० प्रतिशत स्थानीय जनताले खर्च व्यहोर्नुपर्ने व्यवस्थाअनुरुप नगरपालिकामा सडक बत्ती राखिएको नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले बताए ।

यसैगरी, झलारी पिपलाडी नगरपालिकाले आव २०७४÷७५ मा कार्यान्वयन हुने गरी रु १० लाख रकम सौर्य बत्तीका लागि बजेट विनियोजन गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट