सल्यानका द्वन्द्वपीडितले गरे न्याय नपाएको गुनासो

प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, २६ पुस । सल्यानका द्वन्द्वपीडित कालीबहादुर घर्तीमगरले न्यायका लागि पटकपटक सरोकारवाला निकायमा ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् ।

तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा विद्रोही पक्षबाट पीडित भनिएका कालीबहादुरले न्यायका लागि शान्ति समिति र सत्य निरुपण तथा मेलमिलाप आयोगमा निवेदन दिए पनि सुनुवाइ नभएको बताए ।

न्यायका लागि सल्यानबाट राजधानी काठमाडौँ आएका कालीबहादुरले डेढ हप्तादेखि विभिन्न निकायमा धाएको तर कतैबाट पनि वास्ता नगरिएको बताए ।

तत्कालीन अवस्थामा सुराकीको आरोपमा विद्रोही पक्षबाट तीन पटकसम्म अपहरणमा परेको बताउने उनी विसं २०५६ देखि विस्थापित भई हाल ९पाँच परिवारका साथ० बाँकेमा बस्दै आएका छन् ।

स्थानीय जिल्ला प्रशासन कार्यालय, सत्य निरुपण तथा मेलमिलाप आयोगले प्रतिवेदन कार्यान्वयन नगरेको भन्दै उनले आफूजस्तै पीडितलाई चाँडो राहत उपलब्ध गराउन सरकारसमक्ष आग्रह गरे ।

नेपाली काँग्रेस सल्यानको जिल्ला समिति सदस्यसमेत रहनुभएका पीडित कालीबहादुरले २०५६ सालमा जिल्लाको चाँदेकरेन्जी–३ को घर ध्वस्त बनाई करिब रु छ लाखको क्षति भएको बताए । सल्यानमा राज्य र विद्रोही दुवै पक्ष गरी करिब छ हजार द्वन्द्वपीडित रहेको बताइन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट