मर्कावाङ गाविस अब धुवाँमुक्त

प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

प्यूठान, २६ पुस । स्थानीयवासी महिला समूहको सक्रियतामा जिल्लाको दुर्गम गाविसका रुपमा रहेको मर्कावाङ गाविस घरभित्रको धुवाँमुक्त गाविस बन्न पुगेको छ ।

घरभित्रको धुवाँका कारण महिला तथा बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पुगेको जानकारी पाएसँगै धुवाँमुक्त गाविस घोषणा अभियानमा महिला समूह लागेको स्थानीयवासी महिला अगुवा कमला वलीले बताइन ।

घरभित्रको धुवाँले सबैभन्दा धेरै महिला र बालबालिका प्रभावित हुने गरेको भन्दै वलीले प्रत्यक्ष रुपमा आफूहरुको स्वास्थ्यमा सुधार गर्नका लागि घरभित्रको धुवाँमुक्त अभियान जारी राखिएको बताइन ।

‘स्थानीय बासिन्दाको निरन्तर प्रयास र उत्साहले अहिले गाविसभरमा सुधारिएको चुलो निर्माण गरी चुलो प्रयोग गर्ने गरिएको छ ।’ स्थानीयवासी अगुवा भुवन वलीले भने–’धुवाँमुक्त अभियान सुरु भएसँगै गाउँमा निमोनिया, खोकी तथा श्वासप्रश्वासका बिरामीको सङ्ख्यामा कमी आएको छ ।’

गाउँमा परम्परागत चुलामा दाउरा धेरै लाग्दा खाना पकाउन लामो समय लाग्ने, स्वास्थ्यमा समस्या देखिने, वनजङ्गल फँडानी तीव्र हुनेलगायतका समस्या आएकामा अहिले कमी हुँदै गएको छ ।

जिविस, प्यूठानको ऊर्जा शाखा, मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र खलङ्गा र माण्डवी ग्रामीण विकास संस्था नयाँगाउँको प्राविधि सहजीकरणमा मर्कावाङ गाविसलाई सुधारिएको चुलो प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको जिविस, प्यूठानका योजना तथा प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट