फोन गर्न अग्लो डाँडा खोज्दै …

प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

सोलुखुम्बु, २५ पुस । सोलुखुम्बुको सदरमुकाम सल्लेरीसँग जोडिएको गाविस गोराखानीमा अहिलेसम्म पनि सञ्चार सेवा पुग्न सकेको छैन ।

सल्लेरी–५ र गोराखानी–१ सीमा जोडिएको भए पनि त्यहाँसमेत मोबाइल सेवा सञ्चालन नभएको गोराखानी–१ दिम्सेसका दावा शेर्पाले बताए । गोराखानीका कुनै पनि वडामा टेलिफोन सेवा पुग्न सकेको छैन ।

टेलिफोन गर्नका लागि अझै पनि अग्लो डाँडा-डाँडा नेटवर्क खोज्दै चहार्नुपर्ने गोराखानी–८ का मिङ्मार तामाङले बताए । डाँडा-डाँडामा एनसेलको नेटवर्क आए पनि नेपाल टेलिकमले प्रदान गर्ने स्काई र जिएसएमको नेटवर्कले भने कतै पनि नछोएको गोराखानीवासीको गुनासो छ ।

टेलिकमले केरुङ–२ पत्तालेमा विटिएस राखे पनि गोराखानीसम्म त्यसको तरङ नआउने उनीहरु बताउँछन् । टेलिकमले जिएसएमको बिटिएसमार्फत सबै गाविसमा सेवा पुर्याएको जनाए पनि हालसम्म गोराखानी गाविसमा पुग्न सकेको छैन् ।

सञ्चार अभावमा महत्वपूर्ण खबर आदानप्रदानसमेत हुन नसकेको उनीहरुको गुनासो छ । गोराखानी–६ स्थित नयाँ गाविसको भवनमा बिटिएस राखेमा गोराखानी, टाप्टिङ र केरुङको केही भागमा समेत सेवा पुग्ने जानकारहरु बताउँछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट