सरकारी कार्यालय अपाङ्गमैत्री नभएको गुनासो

प्रकाशित मिति: २४ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

उदयपुर, २४ पुस । जिल्लाका धेरै सरकारी कार्यालय अपाङ्गमैत्री नभएकामा जिल्ला अपाङ्ग सङ्घका पदाधिकारीले गुनासो गरेका छन् ।

मुख्य सरकारी कार्यालय नै अपाङ्गमैत्री नहुँदा आफूहरु जस्ता अपाङ्गका लागि सेवा लिन समस्या भएको नेपाल अपाङ्ग सङ्घ जिल्ला अध्यक्ष चन्द्रकुमार राईले बताए ।

कार्यालयभित्र प्रवेश गर्न पनि नसकिने र कार्यलय प्रमुख माथिल्लो तलामा बस्ने गरेकाले अरुको भरमा पनि सेवा पाउन कठिन भएको उनको गुनासो छ ।

जिल्ला विकास समिति त्रियुगा नगरपालिका जिल्ला प्रशासनसहित दर्जनौँ कार्यालयमा आफूजस्ता अपाङ्गले कार्यालय भित्र प्रवेश गर्न सास्ती भोग्नुपरेको सङ्घका पूर्व अध्यक्ष सीताकुमारी पौडेलले गुनासो गरीन ।

पौडेल भन्छीन “कार्यालयका हाकिम प्रायः माथिल्लो तलामा बस्ने गरेका छन्, आफूहरु सिँढी चढेर माथिल्लो तलामा पुग्नै नसिकने, अवस्था हुन्छ, फेरि हामीहरुजस्तालाई पहिलो प्राथमिकता दिने नगरेको गुनासो पनि साथीहरुकोे छ ।”

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भने, “विगतमा निर्माण भएका सरकारी कार्यालयका भवन अपाङ्गामैत्री हुन नसकेका कारण केही समस्या परे यस्ता व्यक्तिहरुलाई तल्लो तलामै आएर सेवा दिन पहल गरिरहेको छु ।”

यदी कुनै कार्यालयका कर्मचारीले यस्तो सेवा दिन ढिलाइ गरेकोे गुनासो आए तत्काल सहजताको लागि पहल गर्ने र आगामी दिनमा जिल्लामा निर्माण हुने सरकारी कार्यालयका भवनलाई अपाङ्गमैत्री बनाइनेमा उनले जोड दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट