भत्किएको घरको विवरण पेश

प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

 रिपोर्टर नेपाल समाचार

सोलुखुम्बु, २२ पुस । विसं २०७२ मा गएको विनाशकारी भूकम्पबाट सोलुखुम्बुमा १८ हजार ३८४ घर भत्किएको विवरण जिल्ला विकास समितिले केन्द्रीय तथ्याङ्क विभागमा दिएको छ ।

यस अघिको तथ्याङ्क जिल्ला प्रशासन कार्यालयमा समेत नभेटिएपछि राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जिविसलाई दुई दिनभित्र तथ्याङ्क विभागमा पठाउन भनेकामा जिविसले गाविसमार्फत वडा नागरिक मञ्चबाट पुनः तथ्याङ्क सङ्कलन गरी १० दिन ढिला केन्द्रीय तथ्याङ्क विभागमा पठाएको हो ।

यसअघि जिल्लामा आठ हजार ६१७ घर पूर्ण क्षति भएको तथ्याङ्क रहेकामा आंशिक क्षतिसमेत गरी १८ हजार ३३४ घरमा क्षति भएको विवरण पठाएको जिविसका सूचना अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार जिल्लामा तथ्याङ्क विभागको शाखा कार्यालय सल्लेरीमा स्थापना भइसकेको र अब जिविसले पठाएको तथ्याङ्क केन्द्रीय तथ्याङ्क विभागले प्रमाणित गरी पठाएपछि सूचीमा रहेका घरमा पुनःप्रमाणीकरणका लागि प्राविधिक पठाइनेछ । प्राविधिकले क्षति भएको घरलाई पाँच समूहमा वर्गीकरण गर्ने र चौथो र पाँचौँ समूहमा पर्नेले पुनःनिर्माणका लागि अनुदान पाउने कार्कीले बताए ।

भूकम्प गएको २१ महिनासम्म पनि पुनःनिर्माण अनुदान नपाउँदा पीडित अझै जस्ता र पालको छानामुनि रात बिताउन बाध्य छन् । लगातार एक हप्तादेखि परिरहेको हिमपातका कारण अत्यन्तै कष्टकर जीवन बिताउन बाध्य पीडितहरु अब भने अनुदान पाउनेमा आशावादी भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट