२१ प्रतिशत बोनश शेयर दिने कुमारीको प्रस्ताव पारित

प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं । कुमारी बैंक लि. को १९ पुसमा बसेको सञ्चालक समितिको बैठकले आव ०७२÷७३ को मुनाफा समेतबाट चुक्ता पुँजीको २१ प्रतिशत बोनश शेयर र नगद लाभांश १ दशमलव १० प्रतिशत दिने प्रस्ताव पारित गरेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लागू हुनेछ । बोनश शेयर वितरणपश्चात, बैंकको चुक्ता पुँजी ३ अर्ब २७ करोड रूपैयाँ हुनेछ । हालको चुक्ता पुँजी (झण्डै रु.२ अर्ब ७० करोड) को ५० प्रतिशतले हुने रकम करिव १ अर्ब ३५ करोड रूपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन गरिसकेको बैंकले जनाएको छ ।

साथै सो बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक लि., पश्चिमाञ्चल फाइनान्स कं.लि., महाकाली विकास बैंक लि. र काँक्रेबिहार विकास बैंक लि.लाई प्राप्ति (एक्वायर) गर्न नेपाल राष्ट्र बैंकबाट शैद्धान्तिक सहमती प्राप्त गरी सकेको व्यहोरा छ ।

हाल जारी गर्न लागेको बोनश शेयर, हकप्रद शेयर र सो प्राप्ति पश्चात बैंकको चुक्ता पुँजि ६ अर्ब ४२ करोड रूपैयाँ पुग्नेछ भने बैंकको शाखा संख्या ७४, निक्षेप करिब ५० अर्ब रूपैयाँ र कर्जा ४० अर्ब रूपैयाँ पुग्ने बैंकले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट