धर्म र शिक्षा

प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

टीकाराम रेग्मी

म निदाइरहेको थिएँ । आमा बिहान सबेरै उठ्नुभयो । कसैलाई नउठाई, नबोलीकनै एक हातमा एउटा सानो गाग्री र अर्को हातमा आफ्ना फेरफारका कपडा समात्दै बाहिरिनु भयो । केही क्षणपश्चात् उसै गरी तर एक हातमा भिजेका कपडा र अर्को हातमा पानीले भरिएको गाग्री लिई आउनुभयो । अनि मात्र मलाई बोलाउनु भयो । ‘आमा, तपार्इं उठेर पनि मलाई नउठाइकनै किन जानुभयो नि धारोतिर ?’ मैले सोधेँ ।

‘आज त सोमबारे औँशी हो नि । ननुहाइकन बोल्नु हुँदैन नि बाबा ।’ मलाई यति भनी उहाँले तामाको अम्खोरामा आफँैले बोकी ल्याएको गाग्रीबाट केही पानी (आमाको भाषामा जल) भर्नुभयो । त्यो अम्खोरा उठाउनुभयो र पूर्वतर्फ फर्केर बिस्तारै सानो धारो पारेर खन्याउनु भयो । उतिखेरै त्यो अम्खोरालाई पानीले भर्नुभयो र केही थुंगा फूल त्यही अम्खोरामा राख्नुभयो, र राख्नुभयो केही लक्ष्मी, सरस्वती, गणेश, ब्रह्मा, विष्णु, महेश्वरका ससाना फोटाहरू सजाइएको भित्ताको तल रहेको फलेकमा । बत्ती बाल्नु भयो । के के फलाक्नु भयो । घन्टी बजाउनु भयो । नातिनी करुणा अघिपछि छुनुमुनु गर्दै हिँड्दै थिई र भन्दै थिई खोई त मलाई टिकी ? आमाले भन्नुभयो, ल ल पख न पहिले भगवान्लाई अनि तँलाई । पूजा के सिद्धिएथ्यो आमाको हात नातिनीको निधारमा पुग्यो, अनि शिर खट्टामा । त्यसपछि मेरो पालो आयो टीका लगाउने तर मैले भनेँ मुख धोएको पनि थिइनँ । भन्नुभयो, ‘हेर अझै मुख धोएको छैनस् ? मुख नधोई त मैले टीका लगाइदिन्न बाबै ।’

अब त नातिनी पनि हुर्की । स्कुल जान्छे । फुर्सद पायो कि हातमा एउटा गोलाकार ढुंगो समाउँछे, पल्लो घरकी साथीलाई बोलाउँछे, मन्दिरतिर दगुर्छे, पातीको पात हातमा समाउँछे, नमस्तेका हत्केलाहरू निधार नेर पु¥याउँछे र फुत्त फाल्छे मन्दिरभित्र र फाल्छे हातको ढुंगालाई मन्दिरको आँगनमा । एक खुट्टाले उफ्रँदै ढुंगोलाई एक कोठाबाट अर्को कोठातिर फुत्तफुत्त धकेल्छे । उनीहरूले नै राखेको नियम तलमाथि भयो कि उसकी साथीले भन्छे, ‘लौ तिमी म¥यौ । अब, मेरो पालो ।’

घर आउँदा, पाहुना आएका रहेछन् । आमाले भन्नुभयो, ‘नानी, लौ गंगाजीको जल ।’ करुणालाई त्यो जलको अर्थ कुन्नी कति थाहा थियो, उसलाई जल खाइदिएवापत हात पर्ने चिनी मिठाइको स्वाद त्यो जल शब्दसँग कन्डिसनिङ भएको थियो । ऊ दगुर्दै आई, जल थापी, शिरका चुहाई, सुरूप्प पारी, तिनै तस्बिरतिर फर्केर हात जोडी, आमाले मिठाइका दुईटा साना डल्ला हातमा राखिदिनु भयोे, उसले मुखमा राख्दै पिढीँबाट फुत्त आँगनमा झरी र दगुरी साथीको घरतिर ।

हिजो आज करुणा आधुनिक युवती भएकी छे । तै पनि आमाले लगाइदिए टीका पनि लगाउँछे, मन्दिर पनि पस्छे, हात जोडी पनि हाल्छे, टीका पनि लगाइदिन्छे तर खोजीखोजी केही गर्दिन । नाच्ने गाउने अनुकूलता हुने, पूजाआजा, तीज, विवाहआदिमा रमाएर जान्छे, नाच्छे । संगीसाथीसँग बजार पनि जान्छे, खाजामा के खाने र के नखाने छैन उसलाई । उसका सबै जाति र धर्म मान्ने, धेरै भाषा बोल्ने साथीहरू छन् । उनीहरूका घर जान्छे, जे–जे पाकेको छ त्यही–त्यही खान्छे, उसलाई रोजीछोडी केही छैन । कसैले तिम्रो धर्म के हो नानी भनी सोधे भन्दिन्छे – हिन्दू वा स्कुलमा शिक्षकले हिन्दू जतिले हात उठाऊ भनेको बेला उठाइदिन्छे । त्यहाँ केही छैन औपचारिकतामा निभाउनुपर्ने । औपचारिकता के हो, अनौपचारिकता के हो उसलाई त्यसको पनि कुनै चासो नै छैन । उसलाई मन लागेको बोलिदिन्छे, मन लागेको गरिदिन्छे ।

मृदुला उसकै साथी हो तर हिजोआज उसको दैनिकीमा भिन्नता आएको छ । समय तालिकाले समाउँछ उसको लगाम । दर्शनले निर्देश गर्दछ उसको बोली, अनुशासनले चलाउँछ उसका पाइला । कति बेला उठ्ने, कति बेला नुहाउने, कति बेला फूल टिप्ने, कति बेला ध्यान कोठा सजाउने, कति बेला ध्यान गर्ने, आगन्तुक स्वागत कसरी गर्ने, कुनस्तरको मानिसलाई कसरी शिष्टाचारयुक्त बोली र व्यवहार गर्ने, सबै कुरा प्रष्ट छन् । उसको मनमा के छ, अड्कलको कुनै अर्थ छैन, जे छ त्यो उसको बोली र व्यवहार नै हो । त्यहाँ कुनै कुरा अनौपचारिकता छैन । उसका साथी पनि स्वचालित छन् ऊजस्तै । सबै औपचारिक । सबै शिष्ट । सबै उद्देश्यप्रति सजग । जीवनप्रति सजग । कर्तव्यप्रति सचेत । काहीँ भेट्नु भएछ भने यिनलाई तपाईंले, मुस्काउँदै भन्छिन् – ॐ शान्ति ! र, नअह्राई भनाउँछिन् – ॐ शान्ति ! तपाईंलाई पनि ।

करुणा र मृदुला दुवै हाम्रै छोरी हुन्, बहिनी हुन् । उनको उद्गम, वृद्धि तथा विकासस्थल यही माटो हो । यिनले टेकेको पहिलो पाइलो यही थियो । यिनको प्यारो शब्द आमा एउटै थियो । अनि मात्र भएका हुन ममी, माता वा माते । यही धुलौटे बाटो नै त थियो यिनीहरूलाई ताते गराउने । यही त हो नि हावा यिनलाई श्वास फेराउने । तर किन हुन्छ यिनको पाइला फरक ? किन हुन्छ यिनको बोली फरक ? किन हुन्छन् यिनका शब्द फरक ? किन हुन्छन् यिनका हेराइ र चलाइ फरक ?

जवाहरलाल नेहरूले आफ्नी छोरीलाई लेखेको एउटा चिठ्ठीमा सन्तानोत्पादन र तिनको विकासक्रमको बारेमा एउटा उदाहरण पढेको थिएँ लगभग बयालीस त्रिचालीस वर्ष पहिले । एउटा माछाले आफूले कहाँकहाँ फूल पा¥यो, ती कहिले परिपक्व बने र भूरामा कोरलिए, कति भूराले कति लामो जीवनको अचेतन (हाम्रो सोचाइमा) आनन्द लिए होलान् उसलाई कुनै खोजी भएन, विचरा अभिभावक ! विचरी आमा ! ती पारिएका फूलहरूमध्ये कति प्रतिशत चेपागाँडाबाट माछामा रूपान्तरित भए होलान्, कति त्यही पानीमा आफ्नो जीवन उत्सर्ग गरे होलान्, अनि ती माछामा रूपान्तरित चेपागाँडाहरूमध्ये कति बाँचे होलान् र कति कुन समय आफूभन्दा ठूलो माछा वा सार्कहरूको आहारा भए होलान्, कति लामो समय बाँचे होलान् ? तर, त्यस्तै जंगली जनावर हात्ती, गैँडाहरू आफ्ना बालबच्चालाई दूध चुसाउँदै सुरक्षा दिँदै हुर्काउँदै गरिएका छावा वा केटाकेटीहरूको बालमृत्यु दर कति प्रतिशत थियो होला । नेहरूले संकेत गरेको यो भावनात्मक तथ्यलाई हामीले कहिले आत्मसात गरौँला ? अनि हामीले उही काखमा हुर्काएका दुई नानीहरू – करुणा र मृदुलामा कतै तिनै माथिका उदाहरणमा पो मिल्न खोजेका हुन कि !

सुनिन्छ, भोगिन्छ बाली विज्ञहरू एकपछि अर्को नयाँ खाद्यबाली उत्पादनका निम्ति लागिपरेकै छन् र यहाँसम्म कि भनिन्छ बन्दाको जरालाई मुलाको रूपमा उत्पादन गर्न सफल भए भने आश्चर्य नमान्दा हुन्छ । यो नियमित सोच र प्रयोगको परिणाम त होला । असम्भव कसरी मानौँ सत्तरीको दशकताका खाद्यान्न संकट आउलाजस्तो भएको भारतमा इन्दिरा गान्धीको दूरदर्शी सोचको उपज हरित क्रान्तिको परिणाम के भएको छ ? त्यति मात्र होइन, त्यसै दर्के पानीको बाछिटाको उपज हुनसक्छ हाम्रै मुलकको खाद्यान्न उत्पादन माछाकै अण्डोत्पादनकै ढाँचा भए पनि केही वृद्धि देखिन्छ तर किन देखिन्न शिक्षामा यसको असर ? किन आएन त्यो दिन यी दुवै दिदीबहिनी करुणा र मृदुलामा रहेका मीठा, रसिला, स्वादिला र पोषिला तत्व मिलाएर तेस्री नानी जन्माउने, हुर्काउने र बढाउने स्वप्न ?

तपाईं हामी सचेत छौँ । यो उत्तीर्ण प्रतिशत वा विशिष्ट वा प्रथम श्रेणी र द्वितीय श्रेणीले वास्तवमा विद्यार्थीका रहेको विद्यताको मापन गर्न सक्दैन, उसमा रहेको सिर्जनशीलताको मापन गर्न सक्दैन । यसको एउटा ज्वलन्त उदाहरण– श्री सत्यवती उच्च मावि धादिङका शिक्षक मित्र सीताराम सिलवालले एकदिन फेसबुकको पातोमा एउटा मन छुने घटना सेयर गर्नुभएको थियो । एउटा १२ कक्षाको परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण विद्यार्थीले आफ्नो प्रमाण पत्र लिन सानो ठिमीसम्म जानको लागि कम्तीमा चारपटकसम्म आफ्नो शिक्षकलाई फोन गरेको दृष्टान्त राख्नुभएको थियो ।

तैपनि, कुनै न कुनै मापदण्ड त चाहियो नै परीक्षा हुने भएपछि । ०७१ को प्रवेशिका परीक्षाको परिणामतर्फ यसो दृष्टि दिँदा जम्माजम्मी उत्तीर्ण ४७ दशमलव ४३ प्रतिशतमध्ये कति करुणाहरू र कति मृदुलाहरू परे होलान् ? सामुदायिक विद्यालय तर्फबाट सहभागी ३ हजार २ हजार ३ सय ९९ विद्यार्थीमध्ये उत्तीर्ण हुने १ लाख ३ सय ४२ अर्थात ३३ दशमलव ८८ र संस्थागत तर्फका १ लाख २ हजार ९ सय ३९ मध्ये उत्तीर्ण हुने ९१ ह्जार ९ सय २५ अर्थात ८९ दशमलव ३० देखिन्छ । यो नतिजा गतवर्षको सामुदायिकतर्फ २८ प्रतिशत र संस्थागततर्फ ९१ प्रतिशत हुनुले यो वर्ष सामुदायिकको केही प्रगति र संस्थागततर्फ केही घटेको देखापर्छ ।

हाम्रो देशमा मात्र ३२ प्रतिशतलाई उत्तीर्ण प्रतिशत मानिएको छ, जुन पूर्णांकको एकतिहाइभन्दा पनि कम हो । प्राथमिक तहमा निरन्तर मूल्यांकनको व्यवस्था पनि छ । प्रवेशिका परीक्षाको उत्तर पुस्तिका परीक्षणको क्रममा परीक्षकहरू परीक्षार्थीलाई के निहुँमा कसरी अंक दिऊँ भन्ने चिन्तामा रहन्छन् । २४ आए उत्तीर्ण हुने अंग्रेजीको उत्तरपुस्तिकामा १८ सम्म अंक प्राप्त गरेका उत्तरपुस्तिकालाई दोहो¥याई तेहे¥याई म आफैँले कतिपटक हेरेको छु र पाएको छु उत्तरपुस्तिका परीक्षण गर्ने सबै शिक्षकहरूको यही व्यथा । यो अवस्थालाई पनि ध्यान दिने हो भने अहिलेको परीक्षा प्रणालीकै आधारमा पनि परीक्षकहरूको दया हटाइदिने हो भने असफल हुने विद्यार्थीको संख्या अझै कम्तीमा पाँच प्रतिशतले बढ्नेछ ।

हामीले देखेका छौँ जुगजुगदेखि कपडाको सिलाइमा आफ्नो गुजारा चलाउँदै आउनुभएका हाम्रा सुचिकार दाजुभाइहरूका सिलाइ कक्षहरू प्रायः सुनसान देखिन्छन्, जुगौजुग जुत्ता सिलाएर आफ्नो गुजारा चलाउँदै आउनुभएका हाम्रा चर्मकार दाजुभाइको कारखाना पछिपरेको छ, त्यसैगरी हँसिया कोदालोजस्ता कृषि औजार बनाइदिएर संसार पाल्ने कृषि उत्पादनका आधारभूत हातहरूका आरनहरू हिजोआज शून्यप्रायः देख्नुपर्छ । तर तिनै पेसालाई तुच्छ मान्दै, तिनै सिपालु कालिगढहरूलाई अछूत मान्दै आएका अन्य जातिका दाजुभाइ दिदीबहिनीहरूले चलाउँदै आएका सिलाई कक्ष होऊन् वा जुत्ता कारखाना या आइरन इन्डस्ट्रिजहरूले राम्रो बजार लिएका छन् । बाहिरबाट हेर्दा धनाढ्य पनि भएकै छन् । हिरामोती तथा सुन चाँदीको कारोबारमासमेत अन्य जातिका मानिसहरूको बाहुल्यता पाइन्छ । मेरो मस्तिष्कमा यो दृष्य घुम्न थालेपछि एउटा कुराले घर ग¥यो । किन भयो हँ यस्तो ?

पुख्र्यौली पेसालाई अद्यापि चलाइरहेका जाति विशेषका व्यवसायमा मेरो मन गयो । ती मानिसहरूका अगाडि दुई विकल्पहरू थिए । पहिलो– या त समयले दिएको चुनौतीको सामाना गर्नु या यो पेसालाई तिलाञ्जली दिनु । यो निष्कर्षमा पुगेपछि मलाई हाम्रो शिक्षामा पनि योबाहेक अर्को विकल्प देखा परेन ।

हाम्रो मुलुकमै देखिएका करुणा र मृदुला बन्ने बनाइने प्रक्रियाबाट पनि केही सिक्न सके यी तीन तादात्म्यताहरू एकसाथ देख्नु पर्दैनथ्यो कि । यो लेखको खेस्रा तयार गरेको दिन आज ०७२ भाद्र २३ गते देशभरिका शिक्षकहरू आन्दोलनमा छन्, राज्यले यो वर्षको शिक्षा दिवसको नारा ‘दीगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था’ तय गरेको रहेछ । आजैको मितिमा प्रकाशित अनलाइन पत्रिका दैनिक नेपालले भूकम्पपीडितलाई सहयोग गर्न आएकी एक अमेरिकी महिलालाई पोखराका एक शिक्षकले हत्या गरेको कुरा छापेको रहेछ । ती महिलाको नाममा एकपटक शिर नुह्यो । धिक्कारेँ आफैँलाई ।

आज पनि करुणालाई कसैले सोध्यो भने मसिनो स्वरमा भन्छिन्, ‘म हिन्दू ।’ तर, थाहा छैन उनलाई हिन्दू हुनु भनेको के हो, तर उनले भुलेर पनि अन्य भन्दिनन् । मृदुलालाई भने सोध्नुअघि नै जवाफ पाइसक्छ । के हामी शिक्षक जीविकोपार्जनका लागि मात्रै यो पेसामा छौँ ?

अब हामी शिक्षक, हाम्रो लागि मन्त्र बनाइएको यो वर्षको नारा, हामी शिक्षक र सरकारबीचको सम्बन्ध हेर्दा करुणा र मृदुलाहरू जन्मले उही माटोका उत्पादन भएता पनि व्यवहारले कति फरक बाटोका यात्री बनाइरहने भयौँ । के हाम्रो मुलुकको शिक्षामा कार्यरत जनशक्ति (नेतृत्वदेखि सामान्य शिक्षकसम्म)ले समयको चुनौतीलाई छामेको छ ? आगे अगुवाहरूको चेतना र रहर ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट